|
पदभार ग्रहण गर्दै मुख्यमन्त्री भट्ट र उपसभामुख जोशी।

कैलाली : प्रदेश ७ को उपसभामुखमा निर्वाचित निर्मला बडाल (जोशी) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।

आइतबार प्रदेश ७ को संसद् सभाहलमा बसेको संसद् बैठकमार्फत निर्विरोध निर्वाचित घोषणापछि सभामुख अर्जुनबहादुर थापाले जोशीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

शनिबार वाम गठबन्धनका तर्फबाट उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी जोशीलाई अन्य कसैको उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो। जोशी नेकपा (माओवादी केन्द्र)को तर्फबाट दार्चुलाबाट प्रदेशसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएकी हुन्।

मुख्यमन्त्रीसहित मन्त्रीद्वारा पदबहाली

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसहित विभिन्न मन्त्रीले आइतबार पदबहाली गरेका छन्।

मुख्यमन्त्री भट्टले धनगढीको रातोपुलस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेसँगै अन्य मन्त्रीले पदबहाली गरेका हुन्।

पद बहालीपछि मुख्यमन्त्री भट्टले प्रदेश ७ मा रहेको जल, जडीबुटी, कृषियोग्य जमिन, पर्यटकीय क्षेत्रलगायत विकासका सम्भावनाको उजागर गरी सुशासन तथा भ्रष्टाचार न्यूनीकरण गर्ने कार्य नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए। उनले विकासका यी सम्भावनालाई सदुपयोग गर्दै प्रदेश ७ लाई विकासमा १ नम्बर प्रदेश बनाउनतर्फ आफू कटिबद्ध भएर लाग्ने बताए।

यसैगरी आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, भौतिक योजना तथा विकास मन्त्री पठानसिंह बोहरा, आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा, सामाजिक विकास मन्त्री दीर्घ सोडारी, पर्यटन उद्योग, वन तथा वातावरण मन्त्री माया भट्ट र भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले पदबहाली गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.