|

काठमाडौं : कांग्रेस संसदीय दलमा कमजोर उपस्थिति भए पनि नेता रामचन्द्र पौडेल पक्ष सभापति शेरबहादुर देउवासँग निर्वाचन भिड्ने मनस्थितिमा छ। महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दलको नेतामा दाबी प्रस्तुत गरिसकेका छन्।

संसदीय दलमा स्पष्ट बहुमत रहेका सभापति देउवा आफैँ नेता बन्ने तयारीमा छन्। स्रोतका अनुसार महामन्त्री कोइराला सर्वसम्मत हुने अवस्थामा अघि सर्ने मनस्थितिमा छन्। सिंह भने देउवासँग चुनावी प्रतिस्पर्धामै उत्रिन तयार छन्।

समानुपातिकतर्फका सांसदको टुंगो लागेपछि कांग्रेसमा दलको नेता छान्ने गृहकार्य अघि बढेको हो। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कांग्रेसका ६३ सांसद छन् ।

जसमध्ये सभापति शेरबहादुर देउवा पक्ष संसदीय दलमा सहज बहुमतमा देखिएको छ। दलको नेता बन्न ३२ मत (बहुमत) आवश्यक पर्छ। तर, देउवा पक्षमा प्रत्यक्षका ११ र समानुपातिकका २९ गरी ४० सांसद छन्।

पौडेल पक्षबाट प्रत्यक्षमा नौ र समानुपातिकमा १० गरी १९ सांसद छन्। प्रत्यक्षमा तीन सिट जितेको सिटौला पक्षका समानुपातिक सांसद छैनन्। सहमति नभई भोटिङ हुने अवस्थामा पौडेल पक्ष सहजै पराजित हुने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.