|

बारा : बाराको निजगढ नगरपालिका–१० लालमा आइतबार एक जना पुरुष मृत भेटिएका छन्। स्थानीय ४४ वर्षीय केदारप्रसाद अर्याल मृत भेटिएका हुन्।

घरायसी विवादका कारण बिहान घरबाट निस्केका उनी लालको कल्फी सामुदायिक वनमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। उनको मृत्यु कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दिपक कुमार रायले बताए। मृतकको शव रौतहटको चद्रपुर अस्पतालमा पोष्टमार्टम गरिएको छ।

त्यस्तै बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीस्थित गण्डक नहरमा घाँटी रेटी हत्या गरी फालिएको अवस्थामा फेला परेको शवको पहिचान भएको छ। मृतक भारत रक्सौल काली मन्दिरका २२ वर्षीय मनिष कुमार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। शवलाई घरपरिवारजनले पहिचान गरी लगेका छन्।

फागुन ११ मा विवाह गर्ने तयारीमा रहेका मनिष आफन्त र साथीभाइलाई निम्तो कार्ड दिन बिहीबार तीन जना साथीसँग घरबाट हिँडेका थिए। सोही रात हत्या गरिएको मनिषको शव शुक्रबार गण्डक नहरमा फेला परेको थियो।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनका तीनै जना साथीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रक्सौलका राहुल कुमार, संतोष कुमार र सन्तोष कुमार रहेका छन्। पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ। हत्याको कारण खुल्न नसकेको प्रहरी प्रवक्ता भुनेश्वर साहले जनाएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.