|

इलाम : केही महिना यता छुर्पीको मूल्य घटेपछि किसान र व्यवसायी मारमा परेका छन्। एसिया तथा युरोपको बजारमा निकासी हुने छुर्पीबाट मनग्गे आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्य घटेपछि मारमा परेका हुन्।

नेपालबाट अन्तर्राष्ट्रिय बजारमा प्रतिमहिना तीन टन छुर्पीको माग हुने गरेको थियो। विगतमा यसको माग धान्न नै धौ धौ पर्ने गरेको डेरी उद्योगीको गोदाममा अहिले छुर्पी थन्किन थालेको छ। मागसँगै मूल्य घटेपछि उद्योगीले मूल्य बढ्ने आसमा छुर्पी गोदाममा थन्क्याएका हुन्।

यसअघि प्रतिकेजी एक हजार रुपैयाँमा बिक्री हुने गरेको छुर्पीको अहिले प्रतिकेजी अाठ सय रुपैयाँ मात्र बिक्री हुने गरेको इलामको सूर्योदय नगरपालिका–९ स्थित फिक्कल डेरीका प्रोप्राइटर दिनेश महतले बताए। उनले भने, ‘दुधको मूल्य बढी र छुर्पीको मूल्य कम भएपछि लगानी डुब्ने डरले छुर्पीको उत्पादन नै कम गर्न थालेको छु।’ छुर्पी निर्यात नभएपछि  २४ लाख रुपैँयाँ  बराबरको ३० मन छुर्पी गोदाममा नै थन्काएर राखेको महतले बताए।

छुर्पीबाट राम्रो आम्दानी हुन थालेपछि व्यापारी र उद्योगको सख्यामा बढेकाे थियो। बजारीकरणमा अस्वस्थ प्रतिस्पर्धा र गुणस्तरहीन छुर्पी संकलन भएकाले पनि निकासीमा समस्या अाएको व्यवसायीहरु बताउँछन्। 

शून्य डिग्री फ्याटमा तयार पारिएका छुर्पी कुकुरका लागि उपयुक्त मानिन्छ। तर अन्तर्राष्ट्रिय बजारमा फ्याटसहित तयार पारिएका छुर्पी र राम्रो नसुकेका छुर्पी पुगेपछि छुर्पी खोक्रो हुने, कुहिने कुकुरले खाँदा बिरामी हुने जस्ता समस्या भएकाले छुर्पीको माग ह्वात्तै घटेको महत बताउँछन्। इलामका छुर्पी झापाको हिमालय डेरी उद्योग बिर्तामोड, कृष्ण डेरी उद्योग, हिमालय डक च्यू कलेक्सन सेन्टर काठमाडौं, सिल्भर लिङ्क प्रालि काठमाडौं र एभरेष्ट प्रोडक्सन काठमाडौंलगायतले निकासी गर्दै आएको थियो।

इलाममा ४ सय ४५ वटा दुग्धजन्य डेरी, चिज उद्योग रहेको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय इलामका उद्योग प्रशासन प्रमुख खड्ग बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.