|

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरे पनि तत्काल सरकारमा सहभागी नहुँने निर्णय गरेको माओवादी केन्द्र सरकारमा जान सकारात्मक देखिएको छ।

पार्टी एकता नटुंगिएसम्म सरकारमा सहभागी नहुने अडान राखेको माओवादी आइतबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य वार्ता भएपछि सरकारमा जान सकारात्कम भएको हो।

सोमबार बिहान पार्टीका शीर्ष नेतालाई बैठकबारे ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतानजिक पुगेकाले सरकारमा चाँडै जाने बताएका थिए। उनले सोमबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकपछि सरकारमा जानेबारे तायरी गर्ने शीर्ष नेतालाई जानकारी दिएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

उनले भनिन्,‘अध्यक्षहरुबीच भएको छलफल सकरात्मक भएको छ। वैचारिक विषयमा सहमति भएको छ। अब आज बस्ने एकता संयोजन समितिको बैठकले धेरै कुरा टुंगो लगाउँछ।’ माओवादीले सोमबार साँझसम्म सरकारमा जानेबारे निर्णय लिन सक्ने संकेत भुसालल् गरिन्। ‘हामीले सरकारमा जानलाई नै ओली नेतृत्वको सरकारलाई समर्थन गरेका हौँ। एकता संयोजन समितिको बैठक पछि केही निर्णय आउन सक्छ।’ भुसालले तत्कालको कार्यदिशालाई आन्तरिक रूपमा छलफल गर्ने गरी सहमति भएको जानकारी दिइन्।

गत बिहीबार नयाँ सरकार गठनका क्रममा पार्टी एकताको टुंगो नलागेको भन्दै माओवादीले तत्काल सरकारमा नजाने निर्णय गरेको थियो। बुधबार बसेको निर्णयक भनिएको एकता संयोजन समितिको बैठकमा सैद्धान्तिक र वैचारिक विषय टुंगो लगाउन नसकेपछि माओवादीले सरकारमा नजाने निर्णय गरेको थियो। उक्त बैठकमा एमालेले अध्यक्ष र आफ्नो मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद छाड्न नमानेपछि वार्ताले निर्णयक रूप लिन सकेको थिएन।

तर, सोमबार दुई अध्यक्षबीच भएको गोप्य वार्तामा यी विषयमा सहमति जुटेकाले माओवादीले तत्काल सरकारमा जाने गरिको निर्णय गर्न लागेको माओवादी नेता देबेन्द्र पौडेलले जानकारी दिए। उनले भने,‘हिजो दुई अध्यक्षबीच बसेको वार्तामा सकारात्मक कुरा भएको छ। अध्यक्ष प्रचडले आज हामीलाई यसबारेमा ब्रिफिङ गर्नुभयो।’ उनले अध्यक्षबीचको छलफलले पार्टी एकता नजिक पुगेको जानकारी दिए। दुई अध्यक्षले वार्तामा पार्टीको वैचारिक मार्ग कार्यदिशाका विषयमा पनि गम्भीर छलफल भएको नेता पौडेलले थाहाखबरलाई जानकारी दिए।

‘दुवै पार्टी आफ्नो अडानबाट केहीपछि हटेपछि वार्ता सकारात्मक भएको छ। पार्टीको तत्कालको मार्ग सिद्धान्त नेपालको विकाससँग सम्बन्धित समाजवाद लिएर अघि बढ्ने सहमति भएको छ’, नेता पौडेलले भने,‘यस्तै, आर्थिक समृद्धिलाई कार्यदिशा मानेर मार्क्सवाद, लेनिनवाद र माओको विचारधारा रहनेछ। तर, माओवाद र जनताको बहुदलीय जनवाद तत्काल रहँदैन। यसलाई महाधिवेशनमा लगेर टुंगो लगाउने अध्यक्षहरुबीच सहमति भएको छ।’

यस्तै, दुई अध्यक्षबीचमा वैचारिकसँगै नेतृत्व व्यवस्थापनका विषयमा समेत केही सहमति भएको नेता पौडेलले जानकारी दिए। उनले भने,‘उहाँहरुबीच नेतृत्व व्यवस्थापनका बारेमा पनि छलफल भयो। पार्टीको अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने गरी सहमति भएको छ। सम्भवत् आज बेलीका सम्म केही सकारात्मक कुरा आउँछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.