|

काठमाडौं :  प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको गोप्य वार्ता सकिएको छ। 

भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री ओलीको निजी निवासमा २ नेताबीच सोमबार गोप्य वार्ता भएको थियो। पार्टी एकता र सरकारमा सहभागितालगायतका विषयमा छलफल भएको र त्यसलाई पार्टी एकता संयोजन समितिको बैठकबाट पूर्णता दिइने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

दुई शीर्ष नेताहरुबीचको वार्ताको परिणामलाई नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्न बनेको पार्टी एकता संयोजन समितिको सोमबार बेलुकी बस्‍ने बैठकले मूर्त रूप दिने भएको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लगातार भएको एकल वार्ताबाट एकता प्रक्रिया र सरकारमा सहभागिताका विषयमा कुरा मिलेकाले सोमबार बेलुकी ७ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा एकता संयोजन समितिको बैठक बोलाइएको  प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ।

माओवादी केन्द्रको सरकारमा सहभागिता, पार्टी एकतापछि अवलम्बन गर्ने सिद्दान्तलगायतका विषयमा आइतबार भक्तपुरमा ओली–प्रचण्डबीच भएको ५ घण्टा लामो वार्तामा सहमति भएको बताइएको थियो। आज उक्त सहमतिमा दुबै नेताले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। 

पार्टी एकताका लागि यसअघि पार्टी एकता संयोजन समितिमा एकीकृत पार्टीको मुल सिद्धान्त, सांगठनिक संरचना र नेतृत्वका विषयमा विवाद भएपछि दुवै पार्टीका अध्यक्ष लगातार एकल वार्तामा रहेका थिए। 

दुई नेताबीच पार्टी एकता, पद बाँडफाँड र सरकारमा सहभागितालगायतका विषयमा भइरहेको छलफल मिल्नेतर्फ अगाडि बढेको एमाले नेता सुवास नेम्वाङले बताए। माओवादीको समर्थनमा ओली प्रधानमन्त्री बनिसके पनि २ पार्टीबीच एक भएपछि कुन नेतालाई कुन पद दिने र कुन सिद्धान्त अवलम्बन गर्ने तथा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतका पदमा कुरा नमिलेपछि माओवादी सरकारमा सहभागी भएको थिएन। 

पार्टी एकताका विषयमा २ पार्टीका अध्यक्षबीच छलफल चलिरहँदा माओवादी केन्द्रले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरिसकेको छ। नेताहरूको व्यवस्थापन, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्षलगायत मुख्य पदको भागबन्डा टुंगिएको छैन।

यो पनि पढ्नुहोस्:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.