|

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताका लागि भन्दै नेताहरू पटक–पटक वार्तामा जुटिरहेका छन्।

लामो समयदेखि पटक-पटक वार्ता बसे पनि निष्कर्षमा नपुग्दा पार्टीका नेताहरूलाई भने समस्या भएको छ। पार्टी एकता टुंगोमा नपुग्दा सैद्धान्तिक र वैचारिक आधार के हुने भन्ने नेतामा पनि अन्योल छ। यसका कारण पछिल्लो समय पार्टीका प्रशिक्षणलगायतका कार्यक्रम पनि भएका छैनन्।

वार्ताले एकताको टुंगोमा नपुर्‍याउँदा केन्द्रीय नेताहरूलाई जनतालाई के जवाफ दिने भन्ने समस्या त छ नै, संगठन विस्तारका काममा पनि त्यतिकै असर परेको छ। नेतृत्व तहले एकतालाई टुंगोमा नपुर्‍याउँदा केन्द्रीयस्तरका केही नेतालाई भने समस्या भएको हो। माओवादीका केही केन्द्रीय नेताहरूले लामो समयदेखि एकता टुंगोमा नपुग्दा पार्टीका कार्यक्रम, संगठन निर्माणलगायत विषयहरूमा समेत अन्योल छाएको बताएका छन्।

पार्टी एकता जनताले अनुमोदन गरेको भन्दै एकताबाट अब भाग्न नहुने माओवादी नेता देव गुरुङले बताए। उनले भने, ‘लामो समयदेखि छलफल गर्दा जनता र पार्टीमा अन्योल त छाएको छ तर पार्टी एकतालाई जनताले अनुमोदन गरिसकेका छन्। अब एकताबाट पछि हट्नुहुँदैन।’ एकता पनि पार्टी संगठन विस्तार नै भएकाले खासै समस्या नभएको गुरुङ बताउँछन्। उनले एकता हुन नदिन विभिन्न शक्ति लागिपरेको भन्दै यसलाई नेतृत्वले बिफल बनाउनुपर्ने बताए।

लामो समय पार्टी एकताको टुंगो नलाग्दा जनतामा निराशा छाएको नेता मणि थापाले बताए। उनले भने, ‘नेतृत्वले एकता टुंगो नलगाउँदा धेरै समस्या भएको छ। पार्टीका केन्द्रीय कार्यक्रमहरू पनि प्रभावित भएका छन्।’ उनले आफूहरूले कार्यकर्तालाई पनि के बुझाउने भन्ने पनि अन्योल रहेको बताए। उनले भने, ‘पार्टी एकतापछि हाम्रो कार्यदिशा के हुन्छ भन्ने अन्योल छ। हामीले पार्टी कार्यकर्ताले गरेका कार्यक्रममा पनि के बोल्ने भन्ने समस्या त छ नै।’

 पार्टी एकतापछि नेतृत्व व्यवस्थापन कसरी हुन्छ भन्नेबारे पनि अन्योलन नै रहेको नेता थापाले बताए। उनले भने, ‘बैठकका कुरा त्यति धेरै थाहा हुँदैन। कार्यकर्तालाई हामीले के जवाफ दिने? पदीय व्यवस्थापनलगायत विषय पनि स्पस्ट भएको छैन।’ जनवर्गीय संगठले सांगठनिक कार्य गरिरहेको भए पनि एकताको विषयले पार्टीको काम रोकिएजस्तै भएको उनले बताए।

आफूहरूले पार्टीको काम गरिरहेको भए पनि केही समस्या भने भएको माओवादी नेतृ जयपुरी घर्तीले बताइन्। उनले भनिन्, ‘अहिले हामीले पार्टीको काम त गरिरहेका छौँ तर केही समस्या छ नै। अब एकता पनि नजिक पुगेको छ, केही तत्काल होला भन्ने आश छ।’

पार्टी एकता तत्काल टुंगिए संगठन विस्तार, विकास निर्माणलगायत कामले गति लिने माओवादी नेता अग्नि सापकोटाले बताए। उनले भने, ‘पार्टी एकता टुंगिए काम गर्न त धेरै सहज हुने थियो। विकासका कामले गति लिने थियो।’ पार्टीको कार्यदिशासमेत स्पस्ट नभएको समयमा काम गर्न समस्या भएको उनले बताए। उनले भने, ‘एकता टुंगिएदेखि कार्यविभाजन पनि टुंगिने थियो। हामीले सहज रूपमा काम गर्न पाउने थियौँ तर अहिले त समस्या नै छ।’

माओवादी नेता तिलक परियारले पार्टी एकतामा द्विविधा भएको भन्दै सन्देश राम्रो नगएको बताए। उनले भने, ‘पार्टी एकताको त विकल्प छैन तर जहिले बैठक बसे पनि निष्कर्षमा नपुग्दा जनतामाझ द्विविधा सृजना भएको छ।’ आइतबार दुवै दलका अध्यक्षबीचको बैठकले केही आशा पलाएको उनी बताउँछन्। उनले भने, ‘अहिले द्विविधा भए पनि हिजोको अध्यक्षहरूको बैठकले केही आशा जगाएको छ तर पार्टी एकता भयो भने संगठन विस्तारले पनि गति लिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.