|

चितवन : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तीननम्बर पुलको  रेलिङ खसेपछि रोकिएका सवारीहरू साँझ ६ बजेबाट एकतर्फी मात्रै सञ्चालनमा आएका छन्। अपरान्ह ४ बजेदेखि खुल्नुपर्ने सडक रेलिङ खस्दा जोखिम बढेको भन्दै २ घण्टा थप गाडी रोकिएको थियो।

तर, मर्मत नसकिएकाले साँझ ६ बजेबाट एकतर्फी मात्रै भए पनि सवारी खुलाइएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए। सडक चौडापार्ने काम चलिरहेकाले बिहान १० देखि अपरान्ह ४ बजेसम्म बन्द हुने भए पनि सोमबार भने थप २ घण्टा यात्रुले सास्ती पाए। पुलको रेलिङ मर्मतका लागि २ घण्टा गाडी रोकिए पनि मर्मत पूरा नभएकाले यात्रुको समस्यालाई ध्यानमा राखेर ६ बजेबाट एकतर्फी खुलाईएको प्रहरी निरीक्षक पन्तले बताए। 

जसका कारण बिहान १० बजेदेखि रोकिएका सवारी गन्तव्यमा जान थाले पनि एकतर्फी मात्रै सवारी चलेकाले रातभर नै यातायात प्रभावित हुने अनुमान छ। राति नै मर्मत सकेर दुईतर्फी चलाउने प्रयास जारी छ। यसअघि पनि सो पुलको रेलिङ २ पटक खसिसकेको छ। सो पुल मुग्लिनबाट नारायणगढतर्फको तेस्रो पुल हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सोमबार अपरान्ह एक सूचना जारी गरी रेलिङमर्मतका लागि भन्दै कम्तिमा ६ बजेसम्म बाटो बन्द रहने जनाएको थियो।  

मुग्लिन सडक निर्माणको काम दुई पटक म्याद थप गर्दापनि करिब ७२ प्रतिशत मात्रै सम्पन्न भएकाले पुन म्याद थपको प्रयास भइरहेको छ। नारायणगढ मुग्लिक सडक आयोजनामार्फत यहाँ अहिले करिव ३४ किलोमिटर क्षेत्रमा सडक विस्तारको काम जारी छ । दैनिक १० हजार बढीगाडी उक्त सडकमा गुड्छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.