|

बर्दिया राजापुर– ४ की ४२ वर्षकी कृष्णी थारू प्रदेश ५ की उपसभामुख बनेकी छन्। १८ वर्ष कमलरी र बुक्रही बसेकी उनी एमालेबाट समानुपातिक सांसद् बनेकी हुन्। उपसभामुखमा निर्वाचित भएपछि उनीसँग थाहाखबरका लागि सी.पी. खनालले गरेको कुराकानी। 

तपाईंको पृष्ठभूमिबारे केही बताइदिनुस् न।

मेरो जन्म कमैयाको घरमा भयो। मेरा बुबाआमाले कमैयाको काम गर्दै हुनुहुन्थ्यो। त्यहाँ जन्म भयो। हामी ५ बहिनी थियौँ। बुबाको कमाइले खान पुग्दैनथ्यो त्यतिखेर। आर्थिक कमजोरी थियो। यस कारण हाम्रा बहिनीहरूलाई कमलरी लगाउनुहुन्थ्यो। 

बुबा आफू कमैया गर्नुहुन्थ्यो। हामीलाई पनि कमलरी काम लगाउनुभयो। मेरो उमेर ७ वर्ष हुँदादेखि नै कमलरी बसेकी हुँ। विवाहपछि पनि म कमलरी बसेँ। कमलरी बस्दा धेरै दुःखहरू भोग्नुपर्‍यो। समस्या भोग्नुपर्‍यो। कहिले खान पाइएन, कहिले मेरा मालिक्नीहरूले खाएर बचेको खाना खानुपर्थ्यो। बच्यो भने खान्थेँ, बचेन भने भोकै पनि सुत्नुपर्थ्यो। कहिलेकाहीँ भोकै, पानी मात्रै खाएर भए पनि सुत्नुपथ्र्यो। जसको एक धुर जमिन थिएन, ऊ कमैया पनि बन्यो, उही मान्छे कमलरी पनि बन्यो। ऊ भैँसवार पनि बन्यो। 

हरेक प्रकृतिले थिचोमिचोमा पारेको स्थिति थियो हाम्रो। अहिले पनि मेरो बुबाले कमैयाको परिचयपत्र पाउनुभएको छैन। सुकुम्वासीको नाममा ३ कठ्ठा जग्गा पाएर त्यसमा काम गरिराखेका छौँ। 

उपसभामुख पदमा निर्वाचित हुँदा कस्तो अनुभव गर्नुभएको छ?

मलाई गर्वको महसुस भइरहेको छ। हिजोका दिनमा जति दुःख पाएँ, जति पीडा पाएँ, जति अन्याय, अत्याचार भोगेँ, यी सबैको कारण गरिवी थियो। अहिले म यो ठाउँमा आइपुग्दा वास्तवमा मलाई गर्व महसुुस भएको छ। यो गरिमामय ठाउँमा म आफैँ उपस्थित हुन पाएकी छु। 

तपाईंले कमैया, कमलरीको समस्या भोग्नुभएको छ। अब ती शोषित, पीडित जनताको पक्षमा के कस्ता काम गर्नुहुन्छ?

शोषित पीडितहरूको पक्षमा संविधानमा थुप्रै अधिकारहरू उल्लेख भएका छन्। हरेक हिसाबले अधिकारहरू उल्लेख भएको छ। मौलिक अधिकार दिएको छ संविधानले। संविधानलाई कार्यान्वयन गर्ने मेरो पहिलो भूमिका हुन्छ। संविधान कार्यान्वयन गर्दै आवश्यक नीति नियम बनाउनुपर्छ। नीति नियम नबन्दा हाम्रा समस्याहरू सम्बोधन हुन नसकेको स्थिति मैले देखेकी छु। समस्या समाधान गर्नका लागि आवश्यक नीति नियम बनाउन मेरो भूमिका हुनेछ। 

नीति नियम बनाएर मात्र भएन, त्यसको कार्यान्वयन पनि महत्त्वपूर्ण हो। बनाइसकेपछि क्रमवद्ध रूपमा योजनावद्ध ढंगले त्यसको कार्यान्वयमा लैजानुपर्छ। सबैसँग परामर्श, छलफल गरेर अघि बढ्छु। पक्का पनि हिजोको दिनमा पिल्सिएकाहरूको उत्थानको पक्षमा मेरो भूमिका रहनेछ। 

तपाईंले कुनै दिन उपसभामुख बन्छु भनेर कल्पना गर्नुभएको थियो?

हिजोका दिनमा मेरो सोचाइ थिएन। सोचाइ कुन मालिकको घरमा काम गर्न जाँदा राम्रो शब्दले बोल्नुहुन्छ होला भन्ने मात्र थियो हिजो। म पनि मान्छे हुँ। मान्छे सरह व्यवहार कहाँ हुन्छ होला भनेर सोचिरहन्थेँ। कुन मालिकको घरमा काम गरेपछि मलाई उचित ज्याला दिन्छन् होला अनि मेरा बच्चाबच्चीलाई पाल्न, पढाउन सजिलो हुन्छ होला भनेर मात्रै कल्पना गर्थें। अरू जसरी हिँडिरहेका छन्, घुमिरहेका छन्, उनीहरू जसरी स्वतन्त्रपूर्वक हिँड्न पाउँछु कि पाउँदिनँ भन्ने मात्रै सोचेँ।

आज म यो ठाउँमा आइपुग्दा वास्तवमा म खुसी महसुस गरिरहेकी छु। मैले कल्पना गरेकी थिइनँ, यो गरिमामय ठाउँमा मेरो उपस्थिति हुन्छ भनेर। 

मेरी आमा हुनुहुन्न तर मेरो बुबा हुनुहुन्छ। उहाँ धेरै खुसी हुनुहुन्छ। मैले काठमाडौंसम्म देख्न पाइनँ तर मेरी छोरी यहाँसम्म पुगिन् भनेर मेरो बुबा साह्रै खुसी हुनुभएको छ। फोनमा कुरा भएको थियो। बुबा खुसीले रोइरहनुभएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.