|

काठमाडौं : पब्लिकेसन्स नेपालयले कवि शिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण कृतिहरूको सँगालो प्रकाशन गरेको छ। ५ खण्डमा समेटिएको ‘कवि शिरोमणि रचनावली’ फागुन ७ गते सोमबार सार्वजनिक गरिएको हो। 

फागुन ७ गते कवि शिरोमणि लेखनाथ पौड्यालको स्मृति दिवसको अवसर पारेर उक्त कृति सार्वजनिक गरिएको हो। कालिकास्थानस्थित नेपालयको 'आर'शालामा भएको उक्त कार्यक्रममा नेपाली साहित्यका प्रबुद्ध व्यक्तित्वहरूको उपस्थिति थियो।

कृति सार्वजनिक कार्यक्रममा लेखनाथ पौड्यालको काव्विक व्यक्तित्व र उनका कृतिहरूमाथि संक्षिप्त चर्चा भएको थियो। चर्चामा नेपाली शिक्षा  परिषद्‍की  महासचिव रमा शर्मा, रचनावलीका संकलक तथा सम्पादक प्रा.डा. सनतकुमार वस्ती, कवि शिरोमणिकी नातिनी डा. प्रतिभा पाण्डे र लेखनाथ साहित्य प्रतिष्ठान 

पोखराका शुक्रराज अधिकारीको सहभागिता थियो। कृति विमोचन राष्ट्रकवि माधवप्रसाद घिमिरेबाट हुने भनिए पनि उनको स्वास्थ्यमा प्रतिकूलता भएकाले उपस्थित हुन सकेनन्। नेपाली शिक्षा परिषदका अध्यक्षसमेत रहेका राष्ट्रकविको अनुपस्थितिमा सोही संस्थाकी महासचिव रमा शर्माले संस्थाको प्रतिनिधित्व गरेकी हुन्।

कार्यक्रममा कवि शिरोमणि लेखनाथसँगको भेटका क्षणहरूको संस्मरण गर्दै रमा शर्माले भनिन्, ‘लेखनाथका कविताले आफ्नो पुस्तालाई नैतिकवान्, गुणी बन्नमा प्रेरित गरेका छन्।’ उनले लेखनाथको साहित्यमा रहेको दार्शनिक पक्षलाई अहिलेको पुस्ताले पनि बुझ्नु आवश्यक भएको बताइन्।

आफू निकै कलिलो हुँदाको समयका स्मृतिहरू केलाउँदै लेखनाथकी नातिनी डा. प्रतिभा पाण्डेले भनिन्, ‘बाबाको प्रभावले त्यसबेलाका बालक हामी आपसी झगडा समेत कविताबाटै गर्ने गर्थ्यौं।’ 

हाँसो फैलिएको दर्शकदीर्घातिर हेर्दै उनले अगाडि भनिन्, ‘बाबाका कृतिहरू यसरी एकमुष्ठ प्रकाशित भएपछि अब उहाँलाई पढ्न सजिलो भएको छ।’

कवि शिरोमणिलाई 'बाबा' सम्बोधन गर्न रुचाउने यस कृतिका सम्पादक प्रा.डा. सनतकुमारले लेखनाथप्रति आफ्नो धारणा राख्दै बाबाको साहित्यको आफू पुजारी भएको र यो कृतिमा काम गर्न पाउनु एउटा मनले रुचाएको अनुष्ठान गर्नु भएको बताए।

कार्यक्रममा वस्तीले भाका हालेर कविता वाचन गर्दा 'आर'शालाका दर्शकहरू मौनताको गहिराइमा देखिन्थे। एक घण्टामै सकिएको छरितो कार्यक्रमलाई कवि तथा संगीतकार आभासले संचालन गरेका थिए।

नेपाली साहित्यका स्थापित रचनाकारका कृतिलाई ‘नेपालय क्लासिक्स’ शीर्षकमा प्रकाशन गर्दै आएको र भविष्यमा पनि यस्ता कृतिहरू प्रकाशन गर्दै जाने नेपालयले जानकारी दिएको छ।

लेखनाथका सम्पूर्ण रचनाहरूको खोज गरी प्रा.डा. सनतकुमार वस्तीले ‘कवि शिरोमणि रचनावली’लाई पूर्णता दिएका हुन्,

यस संग्रहमा प्राध्यापक वस्तीले लेखनाथका जटिल पद–पदावलीलाई सन्दर्भसहित सरल बनाएका छन्, जसले लेखनाथकाकृतिलाई बुझ्न अझ सहज भएको छ।

‘भारतमा पुराना साहित्यकारहरूका ग्रन्थहरू यसैगरी एकमुष्ठ प्रकाशित गर्ने गरेको देखेको हो। नेपालमा कवि शिरोमणिको कृति यो रूपमा पाउँदा बडो खुसी लाग्यो’,कवि शिरोमणि रचनावली’को एकमुष्ठ प्रति हातमा लिएका पत्रकार राजेन्द्र दहालको प्रतिक्रिया थियो।

आकर्षक र बाक्लो गातासहित ५ भागमा समेटिएको ‘कवि शिरोमणि रचनावली’को मूल्य ६ हजार ९७५ रुपैयाँ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.