|
फाइल फोटो

  • धर्मराज जीसी-

सुर्खेत : प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्थायी राजधानी सुर्खेतमा रहेको मध्यपश्चिम क्षेत्रीय अस्पताललाई प्रदेशकै नमुना अस्पताल बनाइने बताएका छन्।

अस्पतालको १२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले उपचारकै लागि बाहिर जानुपर्ने झन्झटको अन्त्य गर्ने प्रतिवद्धता जनाए।
उनले ०६२ फागुन ७ गते स्थापना भएको अस्पतालले १२ वर्षको अवधिमा आवश्यक भौतिक पूर्वाधार र अस्पतालको स्तरोन्नतिमा स्थानीयवासीको साथ र समर्थन रहेको पनि बताए। 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘यस अस्पताललाई आवश्यक पर्ने स्रोत, साधन परिपूर्ति गर्नमा प्रदेश सरकार पछि पर्दैन। सुर्खेतमै जटिल प्रकृतिका बिरामीहरूको सेवाका लागि सरकारले आवश्यक नीति बनाउँछ र केन्द्र सरकारसँग समन्वय गर्छ।’

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सपुरिटेण्डेन्ट डा. डम्बर खड्काले यस अस्पतालले अहिले पनि नागरिकहरूलाई प्रभावकारी सेवा दिइरहेको बताए। 

अस्पतालमा हाल आइसियु, एक्सरे, डाइलाइसिसलगायतका सेवाहरू सञ्चालनमा छन्। यहाँबाट हुम्लादेखि सुर्खेत र जाजरकोटदेखि अछामसम्मका नागरिकले स्वास्थ्य सेवा लिँदै आएका छन्। गत आर्थिक वर्षमा मात्रै यस क्षेत्रीय अस्पतालबाट १ लाख ९७ हजार नागरिकले सेवा लिएका छन्।

५० शैय्याको स्वीकृति पाएको यस अस्पतालले बढाएर ११५ शैया विस्तार गरी सेवा प्रवाह गरिरहेको छ। यस क्षेत्रीय अस्पतालको निर्माणाधीन भवन ३५० शैयाको हुनेछ। जनशक्ति अभाव परिपूर्ति गर्ने र आवश्यक स्रोत साधनहरू थप्न प्रदेश सरकारले पहल थाल्ने बताइएको छ।

यसैबीच १२औँ स्थापना दिवसका अवसरमा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्कासहित डा. डम्बर खड्का र विष्णुबहादुर खड्काले आमाबुबाको नाममा ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

विपन्न समुदायका नागरिकले आर्थिक अभावका कारण स्वास्थ्य सेवा लिनबाट वञ्चित  हुन नपरोस् भन्ने हेतुले अक्षयकोषको स्थापना गरिएको डा. खड्काले जानकारी दिए। स्थापना दिवसमा उत्कृष्ट कर्मचारी शेरबहादुर खड्का र चन्दादातालाई सम्मान पनि गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.