|

  • रूपेश दुलाल-

हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेतृत्वले उच्च आचरण, व्यवहार र कार्यशैली विकास गर्नु जरुरी रहेको बताएका छन्।

प्रजातन्त्र दिवस मूल समारोह समिति प्रदेश ३ को आयोजनामा हेटौँडामा भएको सभामा बोल्दै पौडेलले संघीय शासन प्रणाली उच्चस्तरीय प्रजातान्त्रिक आचरण, व्यवहार एवं कार्यशैलीसहितको व्यवस्था भएकाले सोहीअनुरूप नेतृत्वले आफ्नो आचरण, व्यवहार र कार्यशैली विकास गर्नु जरुरी रहेको बताएका हुन्। उनले देशमा ३ तहको निर्वाचन सम्पन्न भई काम अघि बढिसकेको भन्दै संघ, प्रदेश र स्थानीय तहबीचको काम कारवाही सहकार्य, समन्वय र सहअस्तित्वको आधारमा अघि बढ्नुपर्ने बताए। 

प्रदेश ३ को सरकार संविधान, विधि एवं पद्धति पालनमा पूर्ण प्रतिवद्ध रहेको उनको भनाइ थियो। उनले प्रदेश ३ को शान्ति, समृद्धि र समुन्नतिका लागि सबैको सक्रिय सहभागिताका लागि आग्रहसमेत गरे। 

कार्यक्रममा विभिन्न समुदायले आआफ्ना झाँकी प्रदर्शन गरेका थिए। कार्यक्रममा प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, पूर्वाधार विकासमन्त्री केशव स्थापित, राष्ट्रियसभाका सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, विभिन्न सरकारी कार्यालयका प्रमुखलगायतको सहभागिता थियो।

यसअघि हेटौँडाको बुद्धचोकबाट सुरु भएको प्रभातफेरी बजारका विभिन्न भाग परिक्रमा गरी सिद्धार्थ माविमा पुगेर सभामा परिणत भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.