|

काठमाडौँ : नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी गरेर खोजिरहेका नेकपा एमालेबाट ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वप्रहरी नायव महानिरीक्षक नवराज सिलवाल सोमबार बालुवाटार पुगेका छन्।

सिलवाल एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका विश्वस्त स्रोतले जानकारी दिएको छ।

महानिरीक्षक बढुवा विवादमा आफ्नो कार्यसम्पादन मूल्यांकन फाइल कीर्ते गरी सर्वोच्च अदालतमा पेस गरेको भन्दै सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले अनुसन्धान थालेपछि सिलवाल सम्पर्कविहीन भएका थिए। 

नेकपा एमालेको सरकार गठन र राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन आह्वान गरेलगत्तै उनी बालुवाटार पुगेका हुन्।

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २१ गते अधिवेशन आह्वान गरेकी छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले कीर्ते अनुसन्धानमा गत बुधबार नै सरकारी वकिलको कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ। तर प्रतिवेदन बुझाए पनि सरकरी वकिलको कार्यालयले मुद्दा दर्ता गर्नेबारे कुनै राय दिएको छैन। कार्यालयले राय दिन नसक्दा प्रतिवेदन अहिले सरकारी वकिलको कार्यालयमै रोकिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.