|

लहान : सिरहाको लहान नगरपालिका क्षेत्रमा पर्ने सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले पछिल्लो ४ महिनादेखिको तलब नपाउँदा समस्या परेको गुनासो गरेका छन्।  

नेपाल शिक्षक संघका केन्द्रीय प्रतिनिधि उद्धव हमालले लहान नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका कार्यालय सहायकदेखि विभिन्न तहका शिक्षक, कर्मचारीहरूले तलब नपाउँदा घर व्यवहार चलाउनसमेत समस्या भएको गुनासो गरे। लहान नगरपालिका- १५ ढोढनास्थित सगरमाथा माविका शिक्षकसमेत रहेका हमालले भने. ‘नगरपालिकाले पछिल्लो ४ महिनाको तलब रोकेर राख्दा शिक्षकहरू समस्यामा छन्।’ 

हमालले सोमबार विज्ञप्ति जारी गर्दै रोकिएको ४ महिनाको तलब अविलम्ब निकासा गरिनुपर्ने र अन्य कर्मचारीहरू सरह मासिक रूपमा तलबको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।   

प्रशासकीय अधिकृत नहुँदा अप्ठ्यारो

स्थानीय तहको गठनपछि जिल्ला शिक्षा कार्यालय मातहत रहेका विद्यालयहरू सम्बन्धित नगर तथा गाउँपालिकाअन्तर्गत पर्ने भएपछि विद्यालयमा कार्यरत कार्यालय सहायकदेखि विभिन्न तहका शिक्षकहरूलाई स्थानीय तहबाट नै तलब खुवाउनुपर्ने व्यवस्था रहेको छ।

लहान नगरपालिका शिक्षा शाखाका काशिन्द्रप्रसाद यादवले नगर क्षेत्रमा पर्ने सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहायकदेखि शिक्षक, कर्मचारीहरूको तलब खुवाउन नगरका प्रमुख प्रशासकीय अधिकृत नहुँदा अप्ठ्यारो परेको बताए। 

‘नगर क्षेत्रमा पर्ने सामुदायिक विद्यालयका कार्यालय सहायक, कर्मचारी तथा शिक्षकको तलब निकासाका लागि शिक्षा शाखाबाट सबै कागजात तयार गरी लेखामा बुझाइएको छ तर प्रशासकीय अधिृकत नहुँदा गाह्रो पर्‍यो। नगरको खाता प्रशासकीय अधिकृत र लेखा प्रमुखको संयुक्त हस्ताक्षरमा चल्छ’, शिक्षा शाखाका यादवले भने, ‘प्रशासकीय अधिकृत फागुन १४ गतेसम्ममा आउने भन्ने सुनेको छु, त्यसपछि मात्र तलब खुवाउन सकिन्छ।' 

प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण नगर क्षेत्रका २४ वडामा ५१ आधारभूत र ८ मावि तह गरी ५९ वटा सामुदायिक विद्यालयका कार्यालय सहायक, कर्मचारी तथा शिक्षकसहित ४३५ जनाको पछिल्लो कार्तिक महिनादेखिको तलब रोकिएको शिक्षा शाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.