|

काठमाडौं : पर्यटकीय आकर्षकको केन्द्र बनिरहेको मुस्ताङ प्राकृतिक रूपले मात्र होइन, धार्मिक तथा पर्यटनको दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने सन्देश बोकेको गीति एल्बम ‘हाम्रो मुस्ताङ’ काठमाडौंमा विमोचन गरिएको छ।

प्रतिनिधिसभाका सांसद रवीन्द्र अधिकारी, गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा, एल्बमका गीतकार विपीन किरण, संगीतकार मिलन मोक्तान, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीसहितका व्यक्तिले उक्त एल्बम विमोचन गरेका हुन्।

समारोहमा मुस्ताङको सुन्दरतालाई वर्णन गर्दै रचना गरिएको एल्बमको शीर्षगीत ‘हाम्रो मुस्ताङ’को म्युजिक भिडियो प्रिमियरसमेत गरियो। उक्त गीतमा गायिका टीका प्रसाईंको स्वर छ। सन्तोष कोन्मेको निर्देशन, छायांकन तथा सम्पादन रहेको उक्त भिडियोका निर्माता असीम शेर्पा र निरज थकाली हुन् भने परिकल्पनाकार बादल थकाली हुन्।

पर्यटकीय दृष्टिकोणबाट विश्वकै सुन्दर ठाउँ मुस्ताङको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार गर्ने उद्देश्यले उक्त म्युजिक भिडियो तयार पारिएको बताइएको छ। विमोचन समारोहमा एल्बमका परिकल्पनाकार बादल थकालीले एल्बममार्फत मुस्ताङको प्राकृतिक सौन्दर्यसहित कोरला नाका खुलाउनका लागि आह्वानसमेत गरिएको जानकारी दिए।

गीतकार विपीन किरणले शब्दमार्फत मुस्ताङको सेरोफेरो मात्र समेटेका छैनन्, गीतैमार्फत कोरला नाका खोल्न आग्रहसमेत गरिएको छ। उक्त गीति एल्बममा ७ वटा गीत समावेश छन्। एल्बमका गीतमा टीका प्रसाईंसहित कृष्ण काफ्ले, रेश्मा पुन तथा लेखराज गुरुङका स्वरहरू सुन्न सकिन्छ। एल्बमका सबै गीतमा मिलन मोक्तानको संगीत निर्देशन छ। एल्बमका गीतमार्फत मुस्ताङको पर्यटकीय आकर्षण, धार्मिकस्थल, कला, संस्कृतिलाई उजागर गरिएको छ।

विमोचन समारोहमा सांसद रवीन्द्र अधिकारीले गीत–संगीतको माध्यमबाट आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने लक्ष्य राखिएकोमा खुसी व्यक्त गरे। गीतकार विपीन किरणले गीतमार्फत मुस्ताङको झझल्को दिन खोजिएको बताए। मिस मुस्ताङ सन्चिता सिन्जालीको अभिनय रहेको यस गीतमा मुस्ताङ जिल्लाका पर्यटकीय ठाउँहरू समेटिएको छ। संगीतकार मोक्तान यस एल्बममार्फत करिब २ दशकपछि नेपाली संगीतकारमा पुन: फर्किएका छन्।

विपीन किरणका एकल शब्द रचनामा ९ वटा गीति एल्बम प्रकाशित छन् भने करिब २ दर्जन चलचित्रमा गीत लेखेका छन्। उनका 'न बिर्सें तिमीलाई', 'बल गरेर त्यो मन यता', 'दुख्दिनँ म'लगायत गीत चर्चित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.