|

चितवन : संघीय संरचनाअनुसार स्थानीय तहबाटै सुविधा पाउने भनिए पनि जिल्ला कृषि विकास कार्यालयबाट अहिले सेवा सुविधा पाउन छाडेपछि चितवनका किसान अन्योममा परेका छन्। 

यसअघि जिल्ला कृषि विकास कार्यालयबाट कृषकले विभिन्न खाले सेवा सुविधा पाउँदै आएका थिए। तर, अहिले त्यो सेवा पाउन छाडेका छन्। पहिलेझैँ कृषिबाट लिइरहेका सेवाहरू लिनका लागि कृषिका कर्मचारीले स्थानीय निकायमै पठाउने गरेका छन्। त्यसैगरी स्थानीय निकायले कृषि कार्यालयमा पठाउँछन्।

स्थानीय निकाय र कृषि कार्यालयको अन्योलताको मारमा परेका छन् अहिले किसान। कृषि कार्यालयले स्थानीय र स्थानीयले कृषकलाई देखाउने गरेका कारण विगतको जस्तो सेवा पाउन नसकिएको टीकाप्रसाद जमरकट्टेलले जानकारी दिए।  

दैनिक सयौँ किसान विभिन्न खाले सेवा लिन जिल्ला कृषि विकास कार्यालय चितवनमा आउने गरेका छन्। ‘हामीले प्राविधिक सहयोग दिइरहेका छौँ। 'अनुदान जस्ता अन्य कार्यक्रम अहिले यहाँ आउन छाडेकाले स्थानीय निकायमा जान भनेका छौँ’, कार्यालयका कृषि विज्ञ रामराज पौडेल भन्छन्, ‘कृषि विकास कार्यालयले गर्ने काममा कृषक समूह दर्ता, विद्युत मिटर बक्सका लागि सिफारिस, प्राविधिक सहयोग, कृषि तालिम, भूकम्पपीडित र बाढीपीडितका लागि राहतका कार्यक्रम मात्र छन्।’अहिले कृषिमा कृषकका लागि प्रत्यक्ष सरोकार राख्ने तरकारी बिउ बीजनका कार्यक्रम देखिँदैनन्। त्यसैले  किसानलाई कृषिका कर्मचारीहरूले स्थानीय निकायमा पठाउने गरेका छन् भने किसानले स्थानीय तहबाट सोचेअनुसारको सुविधा पाउन सकेका छैनन्।

किसानको चाप जिल्ला कृषि विकास कार्यालयमा भए पनि सेवा दिन नसक्दा आफूलाई समेत खिन्न लागेको कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछाने बताउँछन्। उनलाई अहिले सरकारले इच्छाकामना गाउँपालिकामा खटाइसकेको छ। गाउँपालिकामा आफूलाई बस्ने ठाउँसमेत नभएको लामिछानेको दुःखेसो छ। ‘डेढ महिना बसेँ, त्यहाँ बस्ने कुर्सीसमेत पाइनँ र किसानलाई सेवा दिन पनि सकिनँ’, लामिछानेले भने, ‘सेवा सुविधा नपाएपछि प्रायः कर्मचारी स्थानीय तहमा जान नमानेका रहेछन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.