|
सहमतिपत्रमा हस्ताक्षर गर्दै अध्यक्षद्वय ओली र प्रचण्ड

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको छ। 

पार्टी एकतालाई अन्तिम रुप दिने सोमबार बालुवाटारमा बसेको एकता संयोजन समिति बैठकले पार्टी एकतालाई अन्तिम रुप दिएको हो। एकताबारे संयोजन समितिमा ७ बुँदे एकताका प्रारम्भिक आधारहरूमा सहमति भएको छ।

सोमबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले पार्टीको नाम, निर्देशक सिद्धान्त र आगामी दिनमा अपनाउने कार्यदिशाबारे ७ बुँदे एकीकरणका प्रारम्भिक आधारहरूमा सहमति गरेको हो।

सहमतिपत्रमा एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने उल्लेख छ। संयोजन समितिले एकीकृत पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद राख्नेमा सहमति जनाएको छ। हाल नेकपा एमालेले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र नेकपा माओवादी केन्द्रले अवलम्वन गरी आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने उल्लेख गरिएको छ।

सहमतिबारे जानकारी दिँदै माओवादी नेता नारायणकाजी श्रेष्ठ र एमाले महासचिव ईश्वर पोखरेल।

सिद्धान्तका विषयमा थप लेखिएको छ, 'नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ।'  यसमा थपिएको छ, 'उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ।'

पार्टी नेतृत्वबारे सहमति पत्रमा भनिएको छ, 'महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षद्वारा आलोपालो प्रणालीबाट गरिनेछ।'

त्यस्तै पार्टी एकताको महाधिवेशन भव्यताका साथ सम्पन्न गरिने सम्झौतापत्रमा उल्लेख छ।

सहमति पत्रमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ‌ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल तथा माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको हस्ताक्षर गरेका छन्।

पढ्नुहोस् एकताको पूर्णपाठ:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.