|

भारतको अरुणाचल प्रदेशमा सर्वसाधारणको  भीडले प्रहरी हिरासतमा रहेका दुईजनाको हत्या गरेको छ।

बलात्कारको आरोपमा हिरासतमा रहेका दुई संदिग्धलाई भीडले कुटेर हत्या गरेको हो। मृतकमध्ये एकजनामाथि पाँच वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोप लागेको थियो भने अर्का एकजनालाई सो अपराधमा सहयोग गरेको आरोप लागेको थियो।

अरुणाचल प्रहरीले घटनाको पुष्टि गरेको छ। करिब एकहजार जनाको भीडले प्रहरी हिरासतमै हमला गरेको हो। भीडले दुवै संदिग्धलाई बाहिर निकालेर कुटपिट गरेको थियो। घटनामा केही प्रहरी पनि घाइते भएका छन्।

प्रहरीका अनुसार ३० वर्षीय सञ्जय सोबोर र २५ वर्षीय जगदीश लोहारलाई हिरासतबाटै भीडले नियन्त्रणमा लिएर कुटपिट गरेको हो। स्थानीयका अनुसार १२ फेब्रुअरीका दिन एक बालिकाको अपहरण भएको थियो। पाँच दिनपछि बालिकाको शव एउटा चिया बगानमा फेला परेको थियो। शव नग्न र टाउको काटिएको अवस्थामा फेला परेको थियो।

अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खांडुले नाबालिग बालिकाको बलात्कार र हत्याको घटनालाई ‘बर्बर र अमानवीय’ भनेका छन्। उनले भीडद्वारा दुई संदिग्धको हत्यालाई ‘दुर्भाग्यपूर्ण’ भन्दै घटनाको छानविन गर्न आदेश दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.