|

लेग स्पिनर रसिद खानले उत्कृष्ट अलराउन्डर प्रदर्शन गरेपछि जिम्बाबेविरुद्धको अन्तिम एक दिवसीय खेलमा प्रभावशाली जीत निकालेको छ। यो जीतसँगै सिरिज अफगानिस्तानले ४-१ ले कब्जा गरेको छ।

पूरै सिरिजभरि आफ्नो दबदबा कायम गरेको अफगानिस्तानले जिम्बाबेलाई अन्तिम एक दिवसीय खेलमा १४६ रनले पाखा लगायो। शारजहामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४१ रन बनाएको थियो। जवाफमा बलरहरूको कसिलो बलिङमा निरीह सावित हुँदै जिम्बाबे ९५ रनमा समेटियो।

एक समय ७२ रनको अवस्थामा ३ विकेट गुमाएको जिम्बाबे ९५ रनको अवस्थामा पुग्दा आफ्ना सबै विकेट गुमाउन पुगेको थियो। जिम्बाबेका दुवै ओपनर सस्तैमा पेभिलियन फर्किए पनि ब्रेन्डन टेलरले २७ रन तथा क्राइग अर्भिनले ३४ रन बनाउँदै टिमलाई केही समय धान्ने प्रयास गरेका थिए तर उनीहरू आउट भएसँगै जिम्बाबे लगातार विकेट पतनको सिकार भयो। उनीहरूपछि आएका ५ ब्याट्सम्यानले खाता खोल्न सकेनन् भने अन्य २ ले पनि दोहोरो रनको स्कोर बनाउन असफल भए।

अफगानिस्तानका लागि रसिद खानले ५ ओभर १ बल बलिङ गर्दै १३ रन खर्चिएर ३ विकेट लिए। त्यस्तै, सफरुद्धिन असरफ र मोहमद्ध नाविले समान २-२ विकेट लिए। यसअघि पहिलो ब्याटिङ गरेको अफगानिस्तानले जाभेद अहमद्दीको ७६ तथा रहमत साहको ५९ रनको अर्धशतकीय पारीमा २४१ रनको उच्च स्कोर खडा गर्न सक्यो।

अफगानिस्तानलाई उच्च योगफलमा पुर्‍याउने क्रममा नवौँ नम्बरमा आएका रसिद खानले २९ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा ४३ रन बनाए। त्यस्तै, आठौँ नम्बरका ब्याट्सम्यान सफरुद्धिन असरफले पनि २१ रन बनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.