​के होला माओवादी जम्बो केन्द्रीय समिति?

|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकीकरणको प्रारम्भिक आधारपत्रमा हस्ताक्षर गरेसँगै माओवादीले मंगलबार वा बुधबार सरकारमा सहभागी हुने गरी छलफल सुरु गरेको छ।

पार्टी एकताको खाकामा हस्ताक्षर गरेसँगै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरेको माओवादीले अब भने सरकारमा जाने गरी तयारी थालेको हो। पार्टीभित्र सरकारमा कसको नेतृत्वमा जाने भन्नेबारे छलफल भइरहेको पार्टी नेता देवेन्द्र पौडेलले थाहाखबरलाई जानकारी दिए। उनले भने,‘सरकारमा जानेबारे दुईमत छैन। तर, कसको नेतृत्वमा जाने भन्नेबारे पार्टीभित्र छलफल भइरहेको छ।’

उनले पार्टी नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा सरकारमा जानेबारे छलफल भइरहेको जानकारी दिए। उनले भने,‘ बादलजीको नेतृत्वमा सरकारमा जाने हो कि भन्नेबारे छलफल भइरहेको छ तर टुंगो लागिसकेको छैन। अरूकै नेतृत्वमा पनि निर्णय हुनसक्छ।’

तर, माओवादी केन्द्रकी प्रवक्त पम्फा भुसालले भने तत्काल पार्टी सरकारमा जाने भए पनि कसको नेतृत्वमा जाने भन्ने विषयमा छलफल भइनसकेको बताइन्। उनले भनिन्,‘हामी तत्काल सरकारमा जान्छौँ। तर, अहिले अध्यक्ष काठमाडौंबाहिर जानुभएकाले छलफल भएको छैन।’ उनले मान्त्रालयको संरचना हुन बाँकी रहेकाले त्यसपछि कसको नेतृत्वमा र को को सरकारमा जाने भन्नेबारे छलफल हुने उनले बताइन्।

उनले भनिन्,‘मन्त्रालयकै पुनर्संरचना गर्नुपर्ने अवस्था छ। मन्त्रालयको पुनर्संरचना भएपछि हामीले कुन कुन पाउँछौँ। को को जाने भन्नेबारे छलफल हुन्छ। पहिला मन्त्रालयको टुंगो त लाग्नु पर्‍यो नि।’ सोमबारसम्म पार्टी एकता मात्र सीमित हुनुपरेकाले यस विषयमा खासै छलफल नभएको बताइन्। उनले भनिन्,‘हिजोसम्म त पार्टी एकतामै छलफल केन्द्रित रह्यो। मन्त्रालयको विषयमा छलफल भएन। तर, अब अध्यक्ष काठमाडौं आएपछि यसबारेमा छलफल हुन्छ।’

यसअघि, बिहीबार ओली नेतृत्वमा सरकार गठन हुँदा पार्टी एकताको टुंगो नलागेको भन्दै माओवादीले सरकारमा तत्काल नजाने निर्णय गरेको थियो। तर,ओली नेतृत्वको सरकारलाई समर्थन भने गरेको थियो। माओवादीले सरकामा जाँदा गृहमन्त्रालयसहित ६ मन्त्रालय पाउने गरी सहमति भइसकेको र पार्टीको आन्तरिक बैठकमा समेत छलफल भइरहेको माओवादीका एक नेताले जानकारी दिए।

माओवादीको जम्बो केन्द्रीय समिति के हुन्छ?

माओवादी केन्द्रको केन्द्रीय आयोजक सम्मेलन समिति जम्बो छ। केन्द्रीय कार्यालय सदस्य मात्र ३४ सदस्यीय रहेको छ। यस्तै, माओवादीको सचिवालय सदस्यमा ४७ जना रहेको छ। माओवादीको जम्बो केन्द्रीय समितिअन्तर्गत १३८ जना पोलिटब्युरो सदस्य रहेका छन्।

अब एकता प्रक्रिया सुरु भएसँगै यी सदस्यलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या देखिएको छ। एमालेको केन्द्रीय समिति र माओवादीको केन्द्रीयको व्यवस्थापनका लागि कार्यदल बन्ने बताइएको छ। यी केन्द्रीय समितिका सदस्यहरूले जिम्मेवारी बाँडफाँटका क्रममा घटुवा भएर काम गर्नुपर्ने निश्चित नै छ। तर, नेतृत्वको व्यस्थापन कार्यदलले गर्ने प्रवक्त भुसालले जानकारी दिइन्।

उनले भनिन्,‘यत्रो समिति त बन्दैन तर अहिले यस विषयमा छलफल भएको छैन। यसका लागि कार्यदल बन्छ र काम बाँडफाँट टुंगिन्छ।’ भुसालले नेतृत्व व्यवस्थापनभन्दा पनि पार्टी नै नयाँ बन्ने र सबै समितिहरु स्वतः नयाँ बन्ने बताइन्। उनले भनिन्,‘पहिला कसको जिम्मेवारी के थियो र कसको के रहन्छ भन्नुभन्दा पनि अब पार्टी नै नयाँ बन्ने हो। अब समिति पनि नयाँ बन्छ।’

पार्टीको काम गर्ने बेलामा जिम्मेवारी हेरफेर हुनु सामान्य रहेको माओवादी नेता देव गुरुङले बताए। उनले भने, ‘नेतृत्व व्यवस्थापन कार्यदलले गर्छ। जिम्मेवारी बाँडफाँटको क्रममा को कता पर्छ भन्ने त सामान्य हो। यस्तो त भइहाल्छ नि।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.