संसदीय दलको बैठक बस्न सकेन

|

काठमाडौं : प्रतिनिधिसभामा चौथो र प्रदेश २ मा दोस्रो ठूलो दलको हैसियत बनाएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा प्रदेश सरकारमा मन्त्री छनोटको विषयलाई लिएर विवाद भएको छ।

१ वर्षअघि ६ दल एकीकृत भएर बनेको राजापा नेपालको अध्यक्ष मण्डलमा पुरानै दलका अध्यक्षहरूले गुट सञ्चालन गर्न थालेपछि प्रदेश मन्त्रिपरिषद्‍मा कसकसलाई सिफारिस गर्ने भन्ने विषयमा विवाद भएपछि प्रदेश २ को मन्त्रिपरिषद्समेत विस्तार हुन सकेको छैन।

प्रदेश २ मा संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने सहमति गरेको राजपालाई पार्टीभित्रैबाट देखिएका आकांक्षीलाई व्यवस्थापन गर्न सकस भएको हो।प्रदेश २ मा फोरमसँगको सहमतिबमोजिम राजपाले सभामुखसहित ३ मन्त्री पाउने सहमति थियो। राजपाबाट ३ मन्त्री कसकसलाई पठाउने भन्ने विषयलाई लिएर अध्यक्षमण्डलबीच नै सहमति जुट्न नसकेपछि प्रदेश २ को मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। राजेन्द्र महतो नेतृत्वको पुरानो सद्भावनाका नेता सरोजकुमार यादवलाई राजपाले सभामुखमा पठाइसकेको छ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर निकटका नेता जितेन्द्र सोनल प्रदेश २ मा राजपाको संसदीय दलका नेता हुन्। उनलाई राजपाले भौतिक पूर्वाधारमन्त्रीमा पठाइसकेको छ। ‘अध्यक्ष मण्डलको बैठकले संसदीय दलको नेतालाई प्रदेशमन्त्री नबनाउने सहमति गरेको थियो’, राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले थाहाखबरसँग भने, ‘उहाँ (सोनल)लाई मन्त्री बनाएपछि त्यस विषयमा अध्यक्षमण्डलको अब बस्ने बैठकमा छलफल जरुर हुन्छ।’

अध्यक्षमण्डलका ६ जनामध्ये ठाकुर र महतोले आफ्ना निकटका २ जनालाई प्रदेशमा राम्रो पद दिएर आकांक्षीलाई व्यवस्थापन गरिसकेका छन्। तर, बाँकी ४ अध्यक्षले आफू निकटलाई मन्त्री बनाउन अध्यक्षमण्डलका संयोजक ठाकुरलाई दबाब दिइरहेका स्रोतले बताएको छ।

अध्यक्षमण्डलका १ सदस्य महेन्द्र राय यादव पार्टी नेतृसमेत रहेकी रानी शर्मा तिवारीलाई मन्त्री बनाउन चाहन्छन्। पार्टीका अर्का अध्यक्ष अनिल झा श्रीमती डिम्पल झालाई मन्त्री बनाउन चाहन्छन्। अनिल झा र राजकिशोर यादव आफूले गरेको सिफारिसबमोजिम प्रदेशमा मन्त्री बनाउनुपर्ने पक्षमा छन्। ठाकुर, महतो, राय र शरदसिंह भण्डारी प्रत्यक्षबाट निर्वाचितलाई मन्त्री बनाउनुपर्ने पक्षमा छन् तर झा र यादव भने समानुपातिकबाट सांसद भएकालाई समेत अवसर दिनुपर्ने भन्ने पक्षमा छन्।

प्रदेश सांसदहरूमा सबैभन्दा सिनियर उपाध्यक्ष रामनरेश राय हुन्। उनी पुरानो तराई-मधेश सद्भावना पार्टी (तमसपा)बाट राजपामा आएका हुनाले अध्यक्षमण्डलका महेन्द्र भने रामनरेशको सट्टा रानी शर्मालाई मन्त्री बनाउन चाहन्छन्। रामनरेश समानुपातिकबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकाले उनलाई रोक्न प्रत्यक्ष निर्वाचित सांसदलाई मात्र मन्त्रीमा पठाउने भनेर शर्त अघि सारिएको रामनरेश बताउँछन्।

राजपा अध्यक्षमण्डलबीचमा नै कसकसलाई प्रदेश सरकारको मन्त्री बनाउने भन्ने विषयमा सहमति जुट्न नसकेपछि मंगलबारसम्म पनि अध्यक्षमण्डल र संसदीय दलको बैठक बसेको छैन। 

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ का लागि संघीय संसदको अधिवेशन बोलाइसके पनि राजपाको संसदीय दलको बैठक बस्ने मिति भने तोकिएको छैन। संसदको पहिलो बैठकमै सभामुखको निर्वाचन गर्ने कार्यतालिका बनेकाले फागुन १३ वा १४ गते प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको शपथ ग्रहण कार्यक्रम तय हुँदै छ। राजपाभित्र प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्द सूचीको नाम समावेश गर्दा नरमाया ढकालको नाम परेपछि पार्टीभित्र र बाहिर आलोचना हुँदै आएको एम नेताको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.