|

चितवन : माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मंगलबार आफ्नै छोरीको सम्मान गर्ने अवसर जुरेको छ। प्रचण्डले भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाललाई सम्मान गरेका हुन्।

उनले चितवनका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्ने क्रममा छोरी रेणुलाई पनि सम्मान गरेका हुन्। भरतपुर महानगरपालिका–२२ पदमपोखरीस्थित अमर माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा प्रमुख अतिथि प्रचण्डले उक्त विद्यालयकी पूर्वविद्यार्थीका रुपमा छोरी रेणुलाई सम्मानपत्र प्रदान गरेका हुन्।

विद्यालयले आयोजना गरेको ६३औं वार्षिकोत्सव समारोहको अवसरमा विभिन्न क्षेत्रमा प्रगति गरेका पूर्वविद्यार्थीलाई सम्मानित गरेको हो। चितवनको प्रदेश ३ (ख)का प्रदेशसभा सदस्य रामलाल महतो, जिल्ला समन्वय समिति चितवनकी सदस्य सीता पुन, भरतपुर महानगरपालिका १० का अध्यक्ष अरुण भण्डारी, वडा २२ का अध्यक्ष विष्णु महतो, सदस्यहरू सोमबहादुर गुरुङ, देउमाया विक र प्रेमबहादुर थापा, वडा १४ का अध्यक्ष प्रकाश गुरुङ तथा गायक अमर विरही गुरुङ र सागर आलेलाई सम्मानित गरिएको थियो। समारोहमा प्रचण्डले उक्त विद्यालयसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको बताए।

उनले चुनावका बेला गरिएका प्रतिबद्धता पूरा गर्दै गइरहेको बताए। उनले भने, ‘चुनाव प्रचारका बेला एमाले र माओवादी एकता गरिछाड्ने भनेर गरेको संकल्प र प्रतिवद्धता पूरा गरिएको छ। यसले पहिलो खुड्किलो पार भएको छ, अब पार्टी र सरकार दुबैले विकास र समृद्धिको लागि काम गर्छ।’ विद्यालयको शैक्षिक र भौतिक सुधारका लागि सहयोग गर्न आफू प्रतिवद्ध रहेको प्रचण्डले आश्वासन दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.