|

काठमाडौं : सरकारले देशभरका २४ जिल्लाका ९२ लाख मानिसलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने भएको छ।

फागुन १२ , १३ र १४ गते २४ जिल्लामामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन लागिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा, मोरङ, उदयपुर, लमजुङ, पर्वत, बाग्लुङ,कपिलवस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरमा औषधि खुवाइने जानकारी महाशाखाले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

विश्व स्वास्थ्य संगठनले सन् २०२० भित्र विश्वबाट हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ। सोही लक्ष्यअनुसार नेपालमा पनि सन् २००३ देखि हरेक वर्ष हात्तीपाइले रोग विरुद्धको औषधि निःशुल्क खुवाउने कार्यक्रम सञ्चालन हुँदै आएको महाशाखाका प्रमुख डा. भीम आचार्यले बताए। हात्तीपाइलेको औषधि सेवन गर्दा रिंगटा लाग्ने, वाकवाक लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने लक्षण देखिए पनि यसले शरीरलाई खासै असर नगर्ने उनले बताए।

उनले भने 'हात्तीपाइलेको औषधि सेवन गरेपछि कसै-कसैलाई सामान्य टाउको दुख्ने, पेट दुख्ने, वाकवाक हुने, पेट डम्म हुने जस्ता लक्षण देखिन सक्छ तर यस्ता असर एक-दुई दिनपछि स्वत निको भएर जान्छ। यस्तो असर देखिएमा औषधि प्रभावकारी छ। शरीरमा परजीवी नष्ट हुँदैछ भन्ने बुझ्नुपर्छु।'

यस्तो लक्षण देखियो भन्दैमा बीचैमा औषधि खान नछोड्न पनि उनले आग्रह गरे। हात्तीपाइलेको औषधि खुवाउन ८ हजार ५ सय ५७ जना स्वास्थ्यकर्मी र ४४ हजार ५सय २४ जना स्वयंसेवी परिचालन गर्ने सरकारको योजना रहेको समेत डा. आचार्यले बताए।

नेपालको ६१ जिल्लाका २ करोड मानिस हात्तीपाइले रोगको जोखिममा रहेको विश्व स्वास्थ्य संगठनको अनुमान छ।

के हो हात्तीपाइले रोग ?

यो उचेरेरिया बान्क्रोफ्टी जातको परजीवीबाट सर्ने रोग हो। यो परजीवी मसिनो धागो आकारको जुका जस्तै हुन्छ। यो परजीवीलाई बोक्ने क्युलेक्स जातको पोथी लामखुट्टे हो। क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले मानिसलाई टोकेपछि शरीरमा यो परजीवी प्रवेश गर्छ। यो परजिवीका माध्यमबाट सर्ने सरुवा रोग हो। यो रोग लागिसकेपछि मानिसलाई शारीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने गर्दछ। विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा १२ करोड मानिसहरु यो योगबाट संक्रमित छन्।

कसले औषधि खानु हुँदैन?

दुई वर्ष नपुगेका बालबालिका, क्यान्सर, मुटु रोग, कलेजो, मिर्गौला र फोक्सोका विरामीले तथा ज्वरो आएका मानिसले २४ घन्टाभित्र यो औषधि खान नहुने स्वास्थ्यकर्मीहरुले बताएका छन्। यस्तै गर्भवती, सात दिनसम्मको सुत्केरी, ७० वर्षभन्दा माथिका वृद्धबृद्धा, दीर्घरोगका कारण धेरै औषधि सेवन गरिरहेकाहरुले यो औषधि खानु हुँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.