|

भद्रपुर (झापा) : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दलाई प्रभाव पार्ने उद्देश्यले झापाको मेचीनगरस्थित काँकडभिट्टामा राखेको हक्स बम नेपाली सेनाको टोली निस्क्रिय पारेको छ। 

झापाको मेचीनगर–७ स्थित प्यारीभिट्टा बसपार्कमा राखेको हक्स बमलाई कालीबहादुर गण चारआलीबाट गएको नेपाली सेनाको टोलीले ५ घण्टापछि निस्क्रिय पारेको हो। 

मंगलबार बिहान साढे ४ बजे मोटरसाइकलमा आएका नेकपाका कार्यकर्ताले बम राखेर भागेको स्थानीयले देखेपछि प्रहरीलाई तत्काल खबर गरेका थिए। नेपाल कम्युनिस्ट पार्टी अंकित भण्डाले बेरेर राखिएको अवस्थामा बम फेलापरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए। 

घटनास्थलमा बेवारिसे अवस्थामा एउटा मोटरसाइकलसमेत फेलापरेको छ। मोटरसाइकलको अगाडि र पछाडि फरक फरक नम्बर प्लेट रहेका छन्।

सुजुकी जिक्सर कम्पनीको मोटरसाइकलको पछाडि मे७प ७३६५ र अगाडि मे६प ७३६६ नम्बर लेखिएको छ। उक्त मोटरसाइकललाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा ल्याइएको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए। 

झापामा परेन बन्दको प्रभाव
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव झापामा खासै परेको छैन। राजमार्गमा लामो दूरीका सवारी साधन नचले पनि छोटो दूरीका सवारी साधन निर्बाध रूपमा चलिरहेका छन्।

विर्तामोड, काँकडभिट्टा, भद्रपुर, दमकलगायतका मुख्य शहरका पसल, उद्योग तथा कलकारखाना खुला छन्। निजी विद्यालय बन्द भए पनि सामुदायिक विद्यालयहरू भने खुला रहेका छन्। 

झापामा बन्दको प्रभाव नपरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए। झापाको काँकडभिट्टा र दमक गरी २ स्थानमा राखेको बम तर्साउनलाई राखे पनि अरू कुनै अप्रपिय घटना नभएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.