|
प्रतीकात्मक चित्र

विराटनगर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेता हेमन्तप्रकाश ओली र पदम राई पक्राउ परेको ३ दिन भइसक्दा पनि प्रहरीले उनीहरूलाई अझै पक्राउ पुर्जीसमेत दिन सकेको छैन। 

के विषयमा र कसरी पुर्जी थमाउने भन्ने विषयमा स्थानीय प्रशासन अन्योलमा छ। नियमअनुसार पक्राउ पर्नुअघि पुर्जी थमाउनुपर्ने र पक्राउ परेको २४ घण्टाभित्र मुद्दा चलाउनुपर्ने हुन्छ। तर पक्राउ परेको ३ दिनसम्म पनि प्रहरीले न म्याद थप गर्न सकेको छ, न त उनीहरूलाई रिहाइ नै गरेको छ। 

गत फागुन ६ गते पार्टीको युवा स्वयंसेवक संघको राष्ट्रिय भेलामा सहभागी हुने क्रममा प्रहरीले नेता ओली, राईसहित २९१ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो। पक्राउ परेका अन्य सोही दिन बेलुका छुटे पनि ओली, राई र कुमार खतिवडालाई भने प्रहरीले छाडेको छैन। खतिवडालाई जबर्जस्ती चन्दा मागेको आरोपमा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ। तर २ नेता भने अझै जिल्ला प्रहरी कार्यालय मोरङमै हिरासतमा छन्। 

उनीहरूलाई हिजो (सोमबार) सार्वजनिक बिदा परेकाले कारवाहीको कुनै प्रक्रिया अगाडि बढाइएको थिएन। नेता राईले दिएको जानकारीअनुसार मंगलबार बिहान प्रहरीले म्याद थपका लागि पक्राउ पुर्जी थमौतीको प्रयास गरे पनि उनीहरूले हस्ताक्षर गर्न अस्वीकार गरेपछि सम्भव भएन। ‘हामीलाई आज बिहान सार्वजनिक मुद्दा चलाउन समय चाहिने भन्दै ६ दिनको म्याद थप गर्ने पत्र दिएर हस्ताक्षर गर्न भने’, नेता राईले भने, ‘हामीले हस्ताक्षर गर्न मानेनौँ।’ राईले आफूहरूलाई झूठा मुद्दा लगाएर फसाउने प्रयास भइरहेको आरोप लगाए। 

‘राजवंशी चोकमा भीड जम्मा गरेको र राज्यविरुद्ध नारावाजी गरेको भन्दै मुद्दा चलाउने प्रयास भएको छ’, राईले भने, ‘हामीले यो राज्यमा शान्तिपूर्ण कार्यक्रम गर्न पनि नपाउने गरी कि त बन्देज लगाइयोस्, संविधानको यो धारा, यो उपधारामा शान्तिपूर्ण कार्यक्रम गर्न नपाउने विषय उल्लेख छ भनियोस्, होइन भने अनावश्यक हामीलाई फसाउने काम भयो, यसको हामी विरोध गर्छौं, भण्डाफोर गर्छौं।’ 

यता, प्रहरीले २ नेताका विरुद्धमा सार्वजनिक मुद्दाका लागि म्याद थप भएको बताएको छ। मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बीसीले पत्रमा हस्ताक्षर गर्न नमानेको भए पनि आफूहरूले नियमअनुसार म्याद थप गरेर मुद्दा दर्ताको प्रक्रिया सुरु गरेको बताए। 

कार्यक्रम बिथोलिए पनि बन्यो रेडफोर्स
यसैबीच नेकपाको नयाँ युवा दस्ता गठन भएको छ। कार्यक्रम बिथोलिएको भोलिपल्ट इटहरीमा बन्द सत्र आयोजना गरी संखुवासभाका बाबुराम राईको नेतृत्वमा ४५ सदस्यीय योङ रेड फोर्स गठन भएको हो। 

हिरासतमै रहेका राईले दिएको जानकारीअनुसार इटहरीमा बसेको बैठकले जनजीविका र जनसरोकारका विषयमा विविध निर्णय पनि गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.