|

चितवन : राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन उद्योगको विकास गरी रोजगारी प्रवर्द्धन गर्नुपर्ने बताएकी छन्।

मंगलबार चितवनको रत्ननगरस्थित जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’को स्वर्ण महोत्सव समारोहको उद्घाटन गर्दै उनले यस क्षेत्रमा पर्यटन उद्योगको सम्भावना रहेकाले सरकारले यसतर्फ ध्यान पु¥याउने विश्वास व्यक्त गरिन्। 

कला, संस्कृति, ऐतिहासिक सम्पदा, भौगोलिक र जैविक विविधता नेपालका अमूल्य निधि भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले चितवन निकुञ्ज र यहाँका बाघ, गैँडा, गोहीलगायत जनावर र चराचुरुङ्गीले पर्यटन विकास र वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरिन्। 

उनले भनिन्, ‘नेपालको महत्त्वपूर्ण पर्यटन गन्तव्यको रूपमा विकसित भइरहेको चितवनमा खेलाइने हात्तीपोलोले विश्वका  खेलप्रेमी र पर्यटकलाई आकर्षित गरेकाले यसको प्रवर्द्धनको खाँचो छ।’

विविधताबीच सुदृढ एकता र साँस्कृतिक समन्वयको उत्कृष्ट उदाहरण नेपाली समाज भएको समेत उनले बताइन्। कला, संस्कृतिको संरक्षण जुनसुकै आस्था र विश्वासका सम्प्रदायको परमकर्तव्य हुने राष्ट्रपति भण्डारीको भनाइ थियो।

मंगलबार उद्घाटन गरिएको यस मन्दिरले मौलिक कलालाई प्रतिविम्बित गरेको र सदाचार, भाइचारा वृद्धिका लागि धर्मधामले सहयोग पुर्‍याउने राष्ट्रपति भण्डारीको विश्वास थियो। ‘मन्दिरले पर्यटन विकासको सम्भावनालाई बढाएको छ’, उनले भनिन्। ५ करोड रुपैयाँ लागतमा निर्मित मन्दिर आकर्षक कला शैलीमा निर्माण भएकाले हेर्ने आन्तरिक पर्यटकको अहिले भीड लागेको छ। 

थारू जातिको सांस्कृतिक पहिचान विश्वसामु परिचित भएको राष्ट्रपति भण्डारीको भनाइ थियो। थारू सांस्कृतिक संग्रहालयलाई थप सुदृढ गर्नुपर्ने भन्दै उनले चितवन औद्योगिक नगरीको रूपमा विकास भएकोमा खुसी व्यक्त गरिन्।

नारायणगढ–मुग्लिन हुँदै काठमाडौं जोड्ने सडकमा दुर्घटनाबाट ठूलो जनधनको क्षति भइरहेकामा उनले चिन्ता प्रकट गरिन्। सडक स्तरोन्नति गरी यातायातको सहज प्रबन्ध मिलाउन सरोकार पक्षलाई आग्रहसमेत गरिन्। 

उर्वर भूमि रहेको चितवनमा कृषि आधुनिकीकरण र व्यावसायीकरणमा जोड दिनुपर्ने, कृषि भूमिको संरक्षण गर्नुपर्ने, कुखुरा, डेरी उद्योगको विकास गर्नुपर्नेमा भण्डारीको जोड थियो। 

कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रपतिलाई पहिलो पटक यस प्रदेशमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले विविधताबीचको एकता रहेको नेपालमा संविधानको भावनाअनुसार धार्मिक सद्भाव, सहिष्णुता अभिवृद्धि, संस्कृतिको प्रवर्द्धन र संरक्षणमा प्रदेश सरकारको सधैँ साथ र रहयोग रहने विश्वास पनि दिलाए। 

प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले राजनीति र धर्मले मानवीय सेवा नै गर्ने भएकाले जुनसुकैतर्फबाट गरिए पनि जनताको उन्नति र प्रगति मुख्य लक्ष्य हुने धारणा राखे।  कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको समेत सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.