|

कपिलवस्तु : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्राचीन कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन्। 

ऐतिहासिक शहर तिलौराकोटमा भइरहेको उत्खनन् तथा अन्वेषणबारे स्थलगत अवलोकनका लागि मंगलबार कपिलवस्तु पुगेका मुख्यमन्त्री पोख्रेलले प्रदेश ५ को समृद्धिको आधारका रूपमा पर्यटकीय एवं पुरातात्त्विक क्षेत्रको विकास हुनु अनिवार्य रहेको बताएका हुन्।

जमिनमुनिको जीवित सभ्यता बोकेको कपिलवस्तुको वृहत्तर विकाससँगै यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए। उनले भने, ‘उत्खनन् टोलीले यसको ऐतिहासिकता प्रमाणित गरिसकेकाले तिलौराकोट अन्तर्राष्ट्रिय अध्ययन केन्द्र बन्छ, मावन सभ्यताको विकासमा यो स्थल महन्त्वपूर्ण छ।’  

अवलोकनका क्रममा तिलौराकोटमा भइरहेको उत्खनन् अन्वेषणबारे जानकारी दिँदै पुरातत्त्व विभागका पूर्व निर्देशक कोषराज आचार्यले हालसम्म उत्खनन् गरिएका भग्नावशेषबाट प्राचीन कपिलवस्तु नगरको मुख्य दरबार क्षेत्र तिलौराकोट नै रहेको प्रमाणित भइसकेको र बाँकी उत्खनन्‌ले तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सघाउ पुग्ने बताए।

सातौँ शताब्दीतिर प्रसिद्ध चिनियाँ तीर्थयात्री हु एन साङ्गले यस क्षेत्रको भ्रमणपछि लेखेको यात्रा स्मरणबारे सुनाउँदै पुरातत्त्वविद् आचार्यले भने, ‘गौतम बुद्धका पिता राजा शुद्धोदनको राज दरबार एउटा नदीको किनारमा अवस्थित दरबार क्षेत्रलाई चारैतिरबाट मजबुत दोहोरो सुरक्षा पर्खालको घेरामा रहेको वर्णन गरिएको छ।’

एेतिहासिक तिरौलाकोटको उत्खनन् निकै महत्त्वपूर्ण रहेको हुँदा आफूहरू पनि संलग्न भएको उल्लेख गर्दै बेलायतको दुरह्याम विश्वविद्यालयका प्रराध्यापक रविन्स कनिंघमले भने, ‘अत्याधुनिक प्रविधिबाट अन्वेषण र उत्खनन् गरिँदै छ।’ उत्खनन्‌‌ले आधिकारिक रूपमा प्रमाणसहित तिलौराकोटलाई शुद्धोधनको राजदरबार क्षेत्रका रूपमा विश्व सामु चिनाउन मद्दत गर्ने उनको भनाइ थियो। 

बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्त्वविद्को टोलीले प्राचीन कपिलवस्तु दरबार क्षेत्र हालको तिलौराकोटमा उत्खनन् गरिरहेका छन्।

उत्खनन् कार्य दुरह्याम विश्वविद्यालयका प्राध्यापक रविन्स कनिंघम, पुरातत्त्व विभागका पूर्व निर्देशक कोषराज आचार्य, पुरातत्त्व विभागका प्रवक्ता एवं प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवरलगायत लुम्बिनी विकास कोषका पुरातत्त्वविद्को सहभागितामा उत्खनन् कार्य भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.