|

काठमाडौं : एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियानअन्तर्गत नेपाल कम्युनिस्ट पार्टी घोषणा भएको खुसियालीमा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले दीप प्रज्वलन गरेका छन्।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि ७ बुँदे सहमति भएको खुसियालीमा कम्युनिस्ट पार्टीका युवा, विद्यार्थीहरूले मंगलबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका हुन्। 

त्यस अवसरमा उनीहरूले कम्युनिस्ट पार्टीको झण्डा निर्माण गरी पार्टीका अगुवा नेताहरूले गरेको सहमतिको स्वागत गरेका थिए। युवाहरूले नेपालमा एउटै कम्युनिस्ट केन्द्र निर्माणका लागि युवाहरूका तर्फबाट नेतृत्वलाई सधैँ खबरदारी गर्नेसमेत बताए। 

एमाले नेता ठाकुर गैरेले वर्षौंदेखिको सपना पूरा भएको भन्दै संविधानबमोजिमको प्रदेश/केन्द्रको निर्वाचन सम्पन्न गरेर ७ बुँदे सहमतिका साथ पार्टी एकताको घोषणा भएकोमा खुसी व्यक्त गरे। उक्त कदमको कार्यान्वयनका लागि अझ एकताबद्ध भएर लाग्न आवश्यक रहेको भन्दै उनले महत्त्वपूर्ण निर्णयसँगै चुनौती पनि त्यतिकै रहेको औँल्याए। 

आगामी दिनमा वास्तविक शोषित, पीडित जनताको पार्टी बनाउन सक्छौँ कि सक्दैनौँ भन्ने चुनौती कम्युनिस्ट पार्टीका नेतृत्वमा रहेको भन्दै उनले ५ वर्षपछिको चुनावमा ९५ प्रतिशतमाथि कम्युनिस्ट पार्टीका सदस्यले जित्ने स्थिति बनाउन अहिले जनताका लागि काम गर्नुपर्ने बताए।

कार्यक्रममा माओवादी केन्द्रका नेता कृष्ण केसीले कम्युनिस्ट पार्टीको एकताले नेपालका सम्पूर्ण कम्युनिस्टसँगै नेपाली जनताको जीत भएको बताए। नेपालमा धेरै पार्टी भएर एउटै कम्युनिस्ट पार्टी भए पुग्छ भन्ने कुराको प्रमाण दिन खोजिएको भन्दै नेता केसीले अब कम्युनिस्ट नेतृत्वको सरकारले जनताका सुखदु:खका लागि काम गरेर मुलुकलाई समृद्धिको दिशातर्फ अगाडि बढाउनुपर्ने धारणा राखे।

माओवादी केन्द्रका नेता पदमबहादुर बडाल, नेताहरू रामकुमारी झाँक्री, निरज आचार्यले जनताले गरेको त्याग, तपस्या र बलिदानीलाई नभुली धेरै पटक फुटेर टुक्राटुक्रा भएका कम्युनिस्टहरू एक भएर अगाडि बढ्न आह्वान गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.