|

गोरखा : स्वीडेनका ६ सांसद गोरखा आइपुगेका छन्। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युनडिपी) मार्फत गोरखाका विभिन्न क्षेत्रमा स्वीडेन सरकारले गरेको सहयोगको वास्तविकता बुझ्न उनीहरू गोरखा आएका हुन्।

टोलीले गोरखा नगरपालिका- १३ देउरालीको ४०० फाँट सिँचाइ आयोजनाको समेत स्थलगत अनुगमन गरेको छ। युनडिपीमार्फत स्वाँरासघन गाउँ विकास केन्द्रको सामुदायिक संरचना तथा जीविकोपार्जन पुनरुत्थान परियोजनाअन्तर्गत ३ लाख २५ हजार २८ रुपैयाँ सहयोग र स्थानीयको ८३ हजार रुपैयाँको योगदानमा निर्माण सम्पन्न भएको उक्त आयोजनाको बारेमा छलफल गरेका हुन्। 

‘हामीले दिएको सहयोग जसले पाउनुपर्ने हो, उनीहरूले पाए कि पाएनन् भनेर हेर्न आएका हौँ’, सांसद केन्टिन लुन्डगेनले भनिन्, ‘हामी यहाँका जनताको जीवनस्तरमाथि भएको चाहन्छौँ। त्यही भएर त युनडिपीमार्फत सहयोग पठाएका हौँ। हाम्रो सहयोगमा नहर निर्माण भएछ। यसबाट विशेषगरी यहाँका महिलाहरूको विकास हुनुपर्‍यो। आम्दानी गर्न सक्षम हुनुपर्‍यो।’ 

स्वीडेन संसदमा सबैभन्दा धेरै निर्वाचित हुने र विश्वमै सबैभन्दा कम भ्रष्टाचार हुने देशसमेत हो। सांसदहरू एम्मा नहरेन, केन्टिन लुन्डगेन, मार्गाटाटा कर्डफेल, माई लुइस रन्निनमार्क, मार्क्स वाइचेल र तना एकटेटफ्ट गोरखा आएका हुन्। 

'संविधान कस्तो लाग्यो?'

आफ्नो सहयोगबाट भएको कार्यक्रमको स्थलगत रूपमा अनुगमनमा आएको स्वीडेनको सांसद टोलीले स्थानीयसँग नेपालको संविधान कस्तो लाग्यो भनेर सोध्नसमेत भ्याए। सांसद माइलुइस रन्निनमार्कको वडा अध्यक्ष हरि खनालाई प्रश्न थियो, ‘अहिलेको नेपालको संविधान छ नि, कस्तो लागेको छ तपाईंलाई?’ खनालले जवाफ फर्काए, ‘देशमा धेरै नेपालीको ज्यान जाने गरी भएको द्वन्द्वपछिको उपलब्धि हो। त्यसैले राम्रो लागेको छ। खुसी छु। अब त्यही संविधान कार्यान्वयनमा जुटिरहेका छौँ।’ 

रन्निनमार्कको अर्काे पनि प्रश्न थियो, ‘राजनीतिक स्थिरता किन भएन यहाँ?’ खनालले भने, ‘देश बल्ल विकासको पाइला चाल्दै छ। यो संक्रमणकालीन अवस्था पार गर्ने बेलामा केही उथलपुथल भइहाल्छ।’ खनाल माओवादी केन्द्रबाट वडा अध्यक्ष निर्वाचित भएका हुन्। 

जनप्रतिधिसँग छलफल

सांसदहरूको टोलीले जिल्ला समन्वय समितिका सभापति अशोककुमार गुरुङ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तलगायतका जनप्रतिनिधिहरूसँग पनि छलफल गरेको छ। सांसदको टोलीले भूकम्पपछिको गोरखाको पुनर्निर्माणमा चासो दिएको थियो। 

छलफलमा भूकम्पपछि गोरखामा भएको क्षति तथा त्यसपछिको कार्य प्रगतिको बारेमा जिल्ला प्राविधिक कार्यालयका प्रमुख होमनाथ पौडेलले जानकारी गराएका थिए।

गोरखा नगरपालिकाले उनीहरूसँगको छलफलमा आगामी सहयोग भौतिक विकासको लागि दक्ष जनशक्ति तथा प्राविधिकहरूको परिचालनमा सहयोग गर्न प्रस्ताव गरेको थियो। 

‘भूकम्पले यहाँका धेरै भौतिक संरचनाहरू भत्केका छन्’, गोरखा नगरपालिकालकाका प्रमुख राजनराज पन्तले भने, ‘अहिले हुँदै आएको सहयोगलाई निरन्तरता होस् भन्ने हाम्रो चाहना हो।' 

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गोरखाको पुनर्निर्माणमा विदेशी सहयोग प्रशंसनीय रहेको भन्दै धन्यावाद दिँदै आगामी दिनमा सहयोग गर्नसमेत आग्रह गरे

गोरखा दरबार र संग्रहालय अवलोकन 
सांसदको सो टोलीले ऐतिहासिक गोरखा दरबार र गोरखा संग्रहालयको अवलोकनसमेत गरेको छ। भूकम्पले ध्वस्त गोरखा दरबार र सामान्य क्षति पुगेको संग्रहालय अवलोकनपछि अर्काे पटक गोरखा आउन पाऊँ भन्दै उनीहरू काठमाडौँ फर्केका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.