|

उदयपुर :  उदयपुरको सुनकोसी गाउँपालिकामा भएका विद्यालयमा कार्यरत शिक्षकहरूले दलीय राजनीति गरे जागिर जाने भएको छ। सुनकोसी गाउँ कार्यपालिकाले केही दिनअघि शिक्षा गुणस्तर बढाउनको लागि शिक्षकलाई दलीय राजनीतिमा प्रतिबन्ध लगाएपछि जागिर जाने भएको हो।

गाउँपालिका प्रशासकीय प्रमुख भक्तबहादुर राईका अनुसार नेपालको संविधानको अनुसूची ८ को बुँदा नम्बर ८ ले दिएको अधिकारबमोजिम शिक्षकलाई राजनीतिक झण्डा बोक्न प्रतिबन्ध लगाइएको छ। ‘गाउँपालिकाभित्र रहेका विद्यालयको व्यवस्थापन, नयाँ विद्यालयलाई अनुमति दिने, शिक्षकको पदपूर्ति गर्ने अधिकार गाउँपालिकालाई छ,’ उनले भने, ‘त्यही संविधानले दिएको अधिकारभित्र रहेर सुनकोसी गाउँपालिका शिक्षा नियमावली २०७४ तयार गरी प्रतिबन्ध लगाएका हौँ।’

प्रशासकीय प्रमुख राईले विभिन्न राजनीतिक दलको भ्रातृ संगठनमा रहेर सार्वजानिक पद धारण गर्ने, विद्यालयको समयमा राजनीतिक दलको कार्यक्रममा बसेर भाषण गर्ने, संगठन निर्माणको लागि विद्यालयको अध्यपन छाडेर हिँड्नलाई रोकिएको छ। ‘सुनकोसी गाउँपालिकाको शिक्षा नियमावली २०७४ जो शिक्षकले मान्दैन उसलाई हामीले विभिन्न कारबाहीसमेत गर्ने व्यवस्था गरेका छौँ,’ पुन: प्रमुख राईले भने, ‘गाँउपालिकाभित्र सरुवा गर्ने, दण्ड जरिवान गर्ने र मन्त्रालय तथा विभागलाई पत्र लेखी कारबाहीको व्यवस्था गरेका छौँ।’

गाउँपालिकाभरी शिक्षामा सुधार ल्याउनको लागि गाउँ कार्यपालिकाको सातौँ बैठकले शिक्षकलाई राजनीतिमा प्रतिबन्ध लगाएको सामाजिक विकास समितिको संयोजक तथा २ नम्वर वडा अध्यक्ष भविन्द्र राईले बताए। ‘हामीले हाम्रा विद्यालयमा रिक्त रहेका पदपूर्ति पनि यहीबाट परीक्षा लिएर स्वच्छ ढंगले गर्ने गरेका छौँ,’ संयोजक राईले भने, ‘अहिलेसम्म विभिन्न विद्यालयमा पाँचवटा राहत  अस्थायी कोटा पूरा गरेका हौँ।’

गाउँपालिका स्रोत व्यक्ति युवराज थापाले शिक्षकलाई राजनीतिक दलको कार्यक्रममा प्रतिबन्ध लगाएपछि पठनपाठनमा सुधार आएको बताए। ‘कोही शिक्षक साथीहरु शिक्षक संठगन तथा दलको कार्यक्रममा हिँड्न पाएका छैनन्,’ उनले भने, ‘विद्यालयमा नभेटिने शिक्षकसमेत अहिले विद्यालय धाउन थालेका छन्।

सुनकोसी गाउँपालिकामा उच्च माध्यमिक विद्यालय, माध्यमिक विद्यालय र प्रथामिक विद्यालय गरी जम्मा ३४ वटा विद्यालय रहेका छन। सरकारी दरबन्दी अनुसार शिक्षक नभएको गुनासो गर्दै स्रोत व्यक्ति थापाले भने, ‘अस्थानीय तथा राहत, नीजीमा शिक्षक गाँउपालिकाबाटै भर्ना झनै राम्रो हुने रहेछ।’

गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले सुनकोसी गाउँपालिलाई शिक्षामा नमुना बनाउनको लागि शिक्षकलाई राजनीतिमा प्रतिबन्ध लगाएको बताए। ‘सुनकोसी गाउँपालिकामा सबैभन्दा ठुलो समस्या शिक्षक विद्यालयमा नबस्ने थियो,’ अध्यक्ष राइले भने, ‘सबै पक्षहरुसँग छलफल, बहस गरेर शिक्षकलाई राजनीतिमा प्रतिबन्ध लगाएका हौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • शिक्षककाे सरुवा गर्ने अधिकार पनि प्रशासकिय अधिकृत लाइ छ र ?