|

चितवन : इन्डियन प्रिमियर लिग(आइपिएल)मा छनोट हुन सफल नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानलाई बुधबार गृह जिल्ला चितवनमा सम्मान गरिएको छ।

चितवन क्रिकेट संघले उनलाई नगद २० हजारसहित सम्मान गरिएको हो। चितवनको रतननगर नगरपालिका वडा नम्बर ८ चित्रसारीमा उनको घर छ।

उनीसँगै क्रिकेट प्रशिक्षक राजु खड्कालाई समेत नगद रु १० हजार सहित सम्मान गरिएको कार्यक्रम संयोजक अनिल अधिकारीले जानकारी दिए। सम्मान ग्रहणपछि संक्षिप्त मन्तव्य राख्दै लामिछानेले चितवनमा क्रिकेट मैदानको खाँचो रहेको औँल्याए।

आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा प्लेयर अफ द लिग टुर्नामेन्ट घोषित भएका लामिछाने उक्त खेलपछि सोमबार पहिलोपटक गृहजिल्ला चितवन आएका थिए। उनी तीनदिनदेखि चितवनमै छन्।

चितवनमा अन्य विभिन्न संघसंस्थाले पनि उनलाई सम्मान गरिरहेको छ। यसअघि, मंगलबार रत्ननगर नगरपालिकाले पनि उनलाई सम्मान गरेको थियो। नगरपालिकाका प्रमुख नारायण वनले आफ्नो क्षेत्रको खेलाडीले विश्वमा नेपाललाई चिनाउने काम गरेको भन्दै खुसी व्यक्त गरे।

तीन दिनका लागि चितवन आएका लामिछाने केहीसमय अघि मात्रै इन्डियन प्रिमियर लिग(आइपिएल)मा दिल्ली डेएर डेभिल्सका लागि २० लाख भारुमा अनुबन्ध भएका थिए। नेपाली क्रिकेट टिमलाई यति ठूलो अवसर यो पहिलो हो।

चितवनका विभिन्न कार्यक्रममा सहभागी लामिछानेले आफूलाई यति ठूलो सफलता मिल्नुमा आफ्नो बलिङ नै भएको प्रतिक्रिया दिएका छन्। डिभिजन २ राम्रो अवसर भएको र ठूलो उपलव्धि हासिल भएको उनको भनाइ छ।

‘हरेक कुरा विस्तारै पाइला चाल्दै जाने हो,एकैचोटि धेरै ठूलो पनि नसोचौं, संघर्ष गर्दै गएपछि सफलता मिल्छ,’ क्रिकेटको प्रगतिबारे उनले पत्रकारलाई प्रतिक्रिया दिए।

आइपिएलमा छनोट हुनुको मुख्य कारण के? भन्ने पत्रकारको जिज्ञासामा सन्दीपले हाँस्दै भने, ‘मेरो बलिंग।’ धेरै कोचहरू, साथी, दाइभाइ सबैको योगदानले आफू यहाँसम्म आइपुगेको उनको भनाइ थियो। बलिङ राम्रो देखेर आफूले अवसर पाएको भन्दै यति छिटै आइपिएलमा पुग्ने नसोचेको पनि लामिछानेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.