|

कालीकोट : ‘नर्थ एण्ड साउथ एक्सिस ग्रोथ’का रूपमा लिइएको कर्णाली करिडोरको ३० किलोमिटरमा गाडी गुडेका छन्। कर्णाली करिडोरको लालीघाटदेखि घाटाचौरसम्मको ३० किलोमिटर सडकमा गाडी गुडेका हुन्। लामो समयदेखि निर्माण कार्य अन्योलमा रहेको करिडोर नेपाली सेनाद्वारा निर्माण कार्य सुरुवात भएसँगै निर्माण कार्यले तीव्रता पाएको थियो।

राष्ट्रिय गौरवको आयोजना रूपमा रहेको कर्णाली करिडोरमा ३० किलोमिटर गाडी गुड्ने सडक भएसँगै यातायात साधन संचालनमा आएपछि कालीकोटका सपना पूरा भएको पचालझरना गाउँपालिका अध्यक्ष खड्कबहादुर सेजुवालले बताए। ‘कर्णाली करिडोरमा गाडी गुड्ला भन्ने कसैले पनि कल्पना गरेको थिएन।’ उनले भने, ‘अहिले सपना पूरा भएको छ।’

करिव १० वर्ष अगाडिदेखि सडक विभागले काम थालेको कर्णाली करिडोरमा ठेकेदारमार्फत करिब २३ करोड रुपैयाँ बजेट खर्च गरे पनि अपेक्षित रूपमा कामले तीव्रता नपाँउदा स्थानीयवासी आन्दोलन गरी २०७१ चैत ५ गते नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय भई २०७२ चैत ९ गतेबाट निर्माण कार्यको सुरुवात भएको रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए। ‘कर्णाली करिडोरमा ठेकेदारमार्फत करोडौँ खर्च भयो’, उनले भने, ‘अहिले नेपाली सेनाले जिम्मा लिएपछि निर्माण कार्यले तीव्रता पाएको छ।’

कालीकोट जिल्लाको खुलालुदेखि बाजुरा, हुम्ला हुँदै चीनको सिमाना हिल्सा जोड्ने, नेपालकै उत्तर-दक्षिण भारत र चीनलाई जोड्ने राष्ट्रिय महत्त्वको राजमार्ग कर्णाली करिडोरको ३० किलोमिटर सडकखण्डमा गाडी गुड्न सडक उपयुक्त रहेको र गाडीहरूको भाडादर कायम गरेर सार्वजनिक जिप सञ्‍चालनमा ल्याएको रारा कर्णाली यातायात प्रालिका अध्यक्ष हस्तबहादुर बमले बताए।

‘कर्णालीको आर्थिक समृद्धिका साथै व्यापारिक राजमार्गका रूपमा लिइएको करिडोरको घाटपारीचौरसम्म सार्वजनिक जिप संचालनमा ल्याएका छौँ’, उनले भने, ‘पहिलो चरणमा २० वटा जिप संचालनमा ल्याउने तयारी गरेका छौँ।’

लालीघाटदेखि बाजुराको अर्थिङ्गे चौरसम्मको ६८.५ किलोमिटर सडकको आंशिक ट्र्याक खुला हुने भएको छ। आउने आर्थिक वर्षको दोस्रो चौमासिकसम्म कर्णाली करिडोरको कालीकोट खण्ड ४० किलोमिटर ट्र्याक खुला गरी सडक विभागलाई हस्तान्तरण गर्ने तयारी भएको नेपाली सेनाका कर्णाली करिडोर निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले बताए।

‘कर्णाली करिडोर कालीकोट खण्ड ४० किलोमिटर, बाजुरा खण्ड ४३ किलोमिटर र हुम्ला खण्ड ११३.३५ किलोमिटर गरी १९६.३५ किलोमिटर रहेको छ’, उनले भने, ‘योमध्ये कालीकोट सडक खण्डका निर्माण कार्य यसै वर्ष पूरा गर्ने लक्ष्य लिएका छौँ।’ वि. सं. २०५७ मा कालीकोट करिडोरको शिलान्यास गरिएको थियो। शिलान्यास भएको १५ वर्षपछि सेनाले उक्त सडक निर्माणको जिम्मा पाएको हो।

करिडोर क्षेत्रमा जग्गाको कारोवारले आर्थिक चहलपहल बढ्यो

कर्णाली करिडोरमा सवारीका साधन चल्न थालेपछि करिडोर क्षेत्रमा आर्थिक चहलपहल निकै बढेको छ। करिडोर क्षेत्रका आसपासमा बजार हुन सक्ने ठाउँमा जग्गाको कारोवारदेखि व्यापारको सम्भाव्यताले गर्दा आर्थिक चहलपहल बढेको हो।

नेपाली सेनाले सडकको निर्माण कार्यलाई तीव्रता दिएपछि खुलालु, लालीघाट र जितेगडा बजार अहिले व्यापारिक केन्द्रका रूपमा स्थापित भएका छन्। रेंगिल, आम्तडा, सान्नीगाड, भात्तडी, भुराबगर, जारकोट र घाटपारीज्युलामा जग्गाको खरिद बिक्री बढेको कालीकोट उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष मथुरा न्यौपानेले बताए। ‘खुलालु, लालीघाट र जितेगडा बजार अहिले व्यापारी केन्द्रका रूपमा स्थापित भएका छन्’, उनले भने, ‘अन्य बजार हुन सक्ने क्षेत्रमा व्यापारीहरूले जग्गाको कारोबार गर्न थालेका छन्।’

कर्णाली करिडोर क्षेत्रमा विगतमा कुनै बजार मूल्य नभएका घर जग्गाहरूको मूल्य पनि अहिले निकै आकासिएको र केही वर्षमा किन्न नसकिने अवस्थामा पुग्ने पचालझरना जारकोट बजारका धर्मराज सेजुवालले बताए। ‘विगतमा यस क्षेत्रमा कसैले जग्गा किन्दैनथे’, उनले भने, ‘अहिले यहाँ जग्गा किन्नका लागि मारामार हुने गरेको छ।’

सडक छेउछाउमा भावी दिनमा व्यापारको राम्रो संभावना देखेर व्यापारीलगायतका अन्य व्यवसायीहरूले जग्गा किन्ने घरसमेत बनाउन सुरु गरेको रास्कोट नगरपालिकाका स्थानीय तथा नागरिक समाजका अगुवा अम्मलराज शाहीले बताए। ‘विकटका गाउँवस्तीहरू अहिले शहरका रूपमा बढेका छन्’, उनले भने, ‘विगतको भन्दा अहिले आर्थिक चहलपहल पनि निकै बढेको छ।’

कर्णाली करिडोरको कालीकोट खुलालुदेखि हुम्ला सदरमुकाम सिमिकोटसम्म २८१ किलोमिटर सडक निर्माण भइरहेको क्षेत्रका विभिन्न वस्तीहरू छोएको र करिडोर क्षेत्रका निजी जग्गाको मूल्य पनि निकै आकासिएको करिडोरका कारणले आर्थिक चहलपहल निकै बढेको बाजुराका पूर्व सभासद् कर्णबहादुर विकले बताए। ‘करिडोर कर्णालीका दर्जनौँ वस्ती छोएर गएको छ। करिडोर क्षेत्रमा भोलिका लागि राम्रो संम्भावना देखेर जग्गाको व्यापारदेखि घरहरू पनि बन्न थालेका छन्’, उनले भने, ‘यसले गर्दा कर्णाली क्षेत्रमा आर्थिक चहलपहल पनि हुने नै भयो।’

नेपाल, चीन र भारतको त्रिदेशीय व्यापारिक केन्द्रका रूपमा लिइएको कर्णाली करिडोर कर्णालीका मानिसहरूका लागि 'लाइफ लाइन' नै भएकाले निर्माणको काम सुरु भएपछि करिडोर क्षेत्रमा बसोवास र आर्थिक चहलपहल हुने गरेको र अझै सडक बनेकाले त्यो झनै बढ्ने कालीकोट थिर्पुका खेमराज रोकायाले बताए। ‘करिडोर त्रिदेशीय व्यापारिक केन्द्र हो। कर्णालीका मानिसका लागि लाइफ लाइन हो’, उनले भने, ‘त्यसले गर्दा अहिलेभन्दा आर्थिक चहलपहल भोलि बढी हुनेछ।’

विगतमा कर्णालीमा कुनै संभावना नदेखेर तराईलगायतका अन्य क्षेत्रमा बसाइँसराइ गरेकाहरूले करिडोर क्षेत्रमा भावी संम्भावना देखेर जग्गा खरिद गर्ने गरेको नेपाली कांग्रेस कालीकोटका महासमिति सदस्य मोतीराज बमले बताए। ‘विगतमा कर्णालीमा संभावना नदेखेर अन्य क्षेत्रमा बसाइँसराइ गरेकाहरूले अहिले यहाँ आएर जग्गा खरिद गर्ने गरेका छन्’, उनले भने, ‘यसले गर्दा अब मानिसहरूले कर्णालीको संभावना देख्न थाले।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.