|

काठमाडौं : मिडियामा पल शाह र आंचल शर्माको प्रेमको विषयले निकै स्थान पाइरहेको छ। उनीहरूले दिएको हर अन्तरवार्तामा यस कुरालाई जोडिएको हुन्छ। तर, उनीहरू भने आफुहरू बिच कुनै प्रेम सम्बन्ध नभएको बताउँदै आएका छन्।

दर्शकले उनीहरूको जोडीलाई खुबै रुचाइरहेका छन्। उनीहरूलाई वास्तविक जीवनमा पनि एक भएको हेर्न चाहने दर्शकको जमात राम्रै देखिन्छ। फिल्ममा होस् वा म्युजिक भिडियोमा उनीहरूको केमेष्ट्रीलाई दर्शकले प्रशंसा नै गरिरहेका हुन्छन्।

भर्खरै पल र आँचलले फिल्म 'शत्रु गते'का लागि बेहुला-बेहुलीको भेषमा फोटो सुट गराएका थिए। उक्त फोटो सुट गर्दा एक मिडियाले लिएको अन्तरवार्ता पनि युट्युब ट्रेन्डिङमा छ। त्यहाँ आएका प्राय: कमेन्टहरूमा उनीहरू वास्तविक जोडी भइदिए हुने भन्ने छ। त्यहाँबाट पनि बुझ्न सकिन्छ, उनीहरूलाई वास्तविक जीवनमा जोडी भएको हेर्न चाहने धेरै छन्।

पल र आँचलको प्रेम चर्चा र उनीहरूले अस्वीकार गरिरहेको विषयमा यसो भन्छन्, उनीहरूसँग निकट मानिने केही व्यक्ति।

उदीप दवाडी (शर्मा) : आँचलका दाजु

सेलिब्रेटी भएका कारण यस्ता कुराहरू आइरहने उदीप बताउँछन्। भन्छन्, 'सँगै काम गरिरहेका छन्। उनीहरूको जोडीलाई मनपराइरहेका छन् त यस्ता कुराहरू आइहाल्छ नि! म त यसलाई सामान्य लिन्छु।' पल र आँचलबीच निकट साथीको सम्बन्ध भएको र त्यसलाई अन्यथा नलिने उनी बताउँछन्।

दीपकराज गिरी : कलाकार

दीपकले फिल्म 'शत्रु गते'मा पल र आँचलसँग काम गरेका छन्। दीपक पल र आँचल एकआपसमा धेरै नजिक भएका र उनीहरूलाई मिल्ने साथीको रूपमा लिएको बताउँछन्। 'सँगै काम गरेपछि नाम जोडिनु स्वाभाविक हो। उनीहरूको जोडीलाई दर्शकले पनि रुचाइरहनुभएको छ', दीपक भन्छन्, 'उनीहरूमा अझै बच्चापन छ। प्रेमको चर्चा चल्नु र विवाह नै गर्नु फरक कुरा हो। उनीहरूबीच के छ भन्न सकिन्न।' सबैले रुचाएको जोडी भएका कारण पनि दीपक पल र आँचललाई एक भएको हेर्न चाहन्छ्न्।

किरण केसी : कलाकार

किरण केसीले पनि फिल्म 'शत्रु गते'मा पल र आँचलसँग काम गरेका छन्। उनका अनुसार पल र आँचल एकअर्कामा निकट छन्। सुटिङको बेला सँगै खाना खाने, सँगै बस्ने उनी बताउँछन्। भन्छन्, 'उनीहरूबीच असल मित्रताको सम्बन्ध छ। एकअर्कामा सम्मान छ। यो पनि प्रेम नै हो। तर, विवाहसम्म पुग्ने प्रेम छ कि छैन, त्यो उनीहरूलाई नै थाहा होला।' जीवन जिउनका लागि जो कोहीलाई पनि अर्काको साथ चाहिने भएकाले सबैले रुचाएको यो जोडी साँच्चिकै जोडीमा परिणत भइदिए हुने किरण बताउँछन्।

प्रदीप भट्टराई : निर्देशक

निर्देशक भट्टराईले पल र आँचललाई फिल्म 'शत्रु गते'मा सँगै काम गराइसकेका छन्। सँगै काम गर्दा पनि उनीहरूबीच त्यस्तो केही छ जस्तो नलागेको प्रदीप बताउँछन्। भन्छन्, 'सँगै काम गरियो तर उनीहरूबीच त्यस्तो केही छ जस्तै लागेन।' उनीहरूको जोडीलाई दर्शकले धेरै रुचाएका छन्। त्यसैले पनि उनीहरू वास्तविक जीवनमा पनि जोडी भएको हेर्ने प्रदीपको पनि चाहना भएको बताउँछन्।

अर्जुन पोखरेल : संगीतकार

अर्जुन पल र आँचलको जोडीलाई एक सुन्दर प्रेम जोडीका रूपमा लिन्छन्। भन्छन्, 'हामीले हेर्दा त निकै सुहाएको देखिन्छ। अब बाहिरी कुरालाई लिएर प्रतिक्रिया दिनुभन्दा उनीहरूको मन मिलेको भए सधैँ एक हुन् भन्ने कामना छ।' अर्जुनलाई पनि उनीहरू वास्तविक प्रेमी-प्रेमिका भएको हेर्ने मन छ।

अजय मल्ल ठकुरी : निर्माता

अजयले पल र आँचलसँग फिल्म 'जोनी जेन्टलम्यान'मा सँगै काम गरेका छन्। सँगै काम गर्दा उनीहरूबीच प्रेम भएको जस्तो नलागेको अजय बताउँछन्। भन्छन्, 'सँगै काम गर्दा त उनीहरूबीच प्रेम छ जस्तो लागेन। उनीहरू असल मित्र हुन् जस्तो लाग्छ मलाई।' पल र आँचलले एकअर्कालाई राम्रोसँग बुझेको बताउँदै भविष्यमा एक भइदिए राम्रै हुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.