|

बारा : पथलैया-बीरगञ्ज औद्योगिक करिडोरको सिमरास्थित साःख स्टिलमा कार्यरत १ मजदुरको रहस्यमय मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका३ रामवनका माइला पाख्रीनको बुधबार विहान कारखानाभित्रै काम गरिरहेका बेला मृत्यु भएको हो। विहान ९ः३० बजे कारखानामा अचेत भएको भनिएका पाख्रिनलाई सिमरास्थित अल्पाईन अस्पतालमा पुर्‍याइएको थियो।

उद्योगमा काम गरिरहेका बेला पाख्रीन अचानक बेहोस भएपछि अस्पताल लगिएको साःख स्टिलका कारखाना व्यवस्थापक राजु तिमल्सिनाले बताए। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषित गरेको थिए, व्यवस्थापक तिमल्सिनाले भने-बेहोस भएको करिब पौने घण्टापछि हामीले अस्पताल ल्याएका थियौं।

मृतक पाख्रिन कारखानामा ठेकेदारमार्फत कार्यरत रहेको ब्यवस्थापक तिमल्सिनाले बताए। कारखानामा फलाम गलाउन बालिने कोइला पिस्ने काम गर्दै आएका थिए।

पाख्रीनको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले बताए।

३ दिनदेखि ज्वरोले ग्रस्त रहेको अवस्थामा पनि उद्योगमा काम गर्दै आएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए। मृतकका आफन्तले घटनाको छानविन हुनुपर्ने माग गरेका छन्।

अल्पाइन अस्पताल परिसरमा भेला भएका पाख्रिनका आफन्तले क्षतिपूर्तिसमेत माग गरेका हुन्। साःख स्टिलस्थित समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष पञ्चलाल चौधरीले मृतकका परिवारलाई न्यायोचित क्षतीपूर्ती दिलाउन मजदुर युनियनले पहल गर्ने बताए।

पिडित परिवारलाई क्षतिपूर्ति दिलाउन उद्योग प्रशासन सकारात्मक रहेको कारखाना व्यवस्थापक तिमल्सिनाले बताए। मृतकका परिवार, मजदुर प्रतिनिधि र कारखाना पक्षको रोहवरमा छलफल गछौं, व्यवस्थापक तिमल्सिनाले भने, मृतकका परिवारलाई उचित क्षतीपूर्ती दिनेछौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.