|

काठमाडौं : प्रधानन्यायाधीश गोपाल पराजुलीको फरक–फरक जन्ममिति भएकोले उनी सो पदका लागि अयोग्य छन् भन्दै राजीनामा माग गरिरहेका डा. गोविन्द केसीका कम्तीमा तीन जन्ममिति भेटिएका छन्।

प्रधानन्यायाधीश गोपाल पराजुलीका फरक-फरक जन्ममितिका प्रमाणपत्र भएका कागजात सार्वजनिक भएका थिए। सोही आधारमा डा. केसीले विभिन्न आक्षेप लगाउँदै प्रधानन्यायाधीशबाट राजीनामा वा उनको बर्खास्तगीको माग गर्दै आएका छन्। डा. केसीले आफ्नो जन्ममिति फरक-फरक देखिनुलाई चाहिँ मानवीय त्रुटि भएको दाबी गरेका छन्।

बुधबार डा. केसीले आफ्ना प्रमाणपत्रमा जन्ममिति फरक-फरक भएको स्वीकार गरका हुन्। उनले आफ्नो जन्ममितिबारे सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि पत्रकार सम्मेलन गरेर जन्ममिति फरक रहेको स्वीकारेका हुन्।

उनले नयाँ नागरिकता लिएको पनि खुलेको छ। उनले पुरानो नागरिकता प्रशासनमा बुझाएर प्रतिलिपि लिएको बताए। उनले भने, ' पहिलेको नागरिकता नेपाली कागजको हुन्थ्यो त्यसलाई पट्याएर राखेकोले च्यातिएको थियो। धेरै पुरानो हुनाको कारणले त्यो बुझाएर यो लिएको हुँ।'

उनले एसएलसीको प्रमाणपत्रमा नागरिकताको भन्दा फरक जन्ममिति पर्न गएको स्वीकार गरेका छन्। उनले मानवीय 'त्रुटि'का कारण जन्ममिति फरक भएको बताए। 'एसएलसीकोमा मानवीय त्रुटि हुनगयो त्यसमा पत्याउने नपत्याउने तपाईंको कुरो हो', उक्त त्रुटिबारे उनले थप प्रस्‍ट पार्दै भने, 'म उहाँ (६ वर्ष जेठा मामा)सँगै काठमाडौंको राम्रो हाइस्कुल पद्मोदय हाइस्कुल भर्ना भए। १३ सालमा जन्म भएको उहाँलाई थाहा छ कुन महिना कति गते थाहा भएन म सानो ११ वर्षको केटो गते र महिना (भर्ना हुँदा) मलाई पनि थाहा भएन। त्यसपछि शिक्षकले उनको दया मायाअनुसार लेखिदिएको हो, माघ २४ गते।'

डा. केसीले पछि नागरिकता बनाउने बेला मात्रै आफूलाई सही जन्ममिति थाहा भएको बताए। उनले भने, 'मेरो जन्ममिति असोज २७ गते हो भनेपछि एसएलसी पास गरिसकेपछि सिडिओ कार्यालय गएँ। सानो थिएँ १६/ १७ वर्षको। 'यस्तो लेख्न हुन्छ?' भनेर मलाई गाली गर्नुभयो। पछि डरले गइनँ। यसै गाली खाइने भयो भनेर करेक्सन गर्न गइनँ।'

उनले आइएस्सीदेखिका प्रमाणपत्रमा भने आफ्नो सही जन्ममिति रहेको बताएका छन्। उनले जारी गरेको विज्ञप्तिमा बढुवाका क्रममा पेस गरेका कागजपत्रहरूमा पनि फरक-फरक जन्ममिति रहेको बताए। उनले ती मानवीय त्रुटि भएको र अब सच्याउन पहल गर्ने बताए।

उनले आफूविरुद्ध ठूलो चलखेल भएकाले आफ्नो जन्ममितिबारे समाचार आएको दाबी गरे। उनले आफूबारे आएका समाचार हास्यास्पद भएको दाबी गर्दै भने, 'राजनीतिक शक्ति माफिया र न्यायालयका माफियाहरू (मविरुद्ध) लागिरहेका छन्। अहिले न्यायालयको प्रधानन्यायाधीशविरुद्ध पनि दिएको छु अब कसरी यसलाई निस्तेज गर्ने भनेर लागेको क्रम हो भन्ने मलाइ लाग्छ।'

उनले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई आफ्ना कागजपत्र सार्वजनिक गर्न माग गरेका छन्। उनले अब आफू सशक्त रूपमा प्रधानन्यायाधीशविरुद्ध लाग्ने बताए।त्यस्तै, प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए वा उनलाई वर्खास्त नगरेसम्म आफू अदालती प्रक्रियामा सहभागी नहुने उनको भनाइ थियो। 'जबसम्म गोपाल पराजुली प्रधानन्यायाधीशबाट बर्खास्त हुँदैनन् तबसम्म म कुनै पनि उनको नेतृत्वमा भएको फैसला मान्दिनँ' उनले भने।

हेर्नुहोस् डा. केसीको विज्ञप्ती:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.