|

रूपन्देही : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ विचारसहितको तेस्रो ध्रुव खडा गर्ने बताएका छन्।

रूपन्देहीको लुम्बिनीमा पार्टीको संघीय परिषद्को बैठकको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्। उनले पुराना राजनीतिक दलबाट अब मुलुकले निकास पाउन नसक्ने दाबीसमेत गरे।

नयाँ विचारका साथ अगाडि बढ्न नसके मुलुक थप संकटमा फस्ने उल्लेख गर्दै संयोजक डा. भट्टराईले नयाँ विचारका साथ अगाडि बढ्न जरुरी रहेको बताए।

नेता भट्टराईले मुलुकका २ ठूला राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसलाई कोकाकोला र पेप्सीकोलाको संज्ञा दिँदै यी दुवै काम नलाग्ने दाबी गरे।

‘देशमा कांग्रेस र कम्युनिष्ट कोकाकोला र पेप्सीकोला जस्ता ब्राण्ड बनेर बसेका छन्। कोकाकोला या पेप्सी कुनैले पनि मानव शरीरलाई हित गर्दैनन्’, भट्टराईले भने, ‘हामीले जनतालाई हित हुने नयाँ पेय पदार्थ दिनुपर्छ।’

नेता भट्टराईले भर्खरै सम्पन्न निर्वाचनमा पुराना राजनीतिक शक्तिहरूले जीत हासिल गरे पनि उनीहरूले देशलाई निकास दिन नसक्ने दाबी गरे।

केही वर्ष सत्तामा हालिमुहाली गरे पनि उनीहरूले मुलुकलाई दुर्घटनामा पार्ने खतरा रहेको उनको भनाइ थियो। भट्टराईले यही भएर कांग्रेस र कम्युनिस्टको सट्टा नयाँ विचारसहितको तेस्रो ध्रुव खडा गर्ने बताए। ‘डाक्टरले मात्र क्यान्सर रोग पत्ता लगाउन सक्छ, सामान्य आँखा र सामान्य व्यक्तिले देख्न र पत्ता लगाउन सक्दैन। मैले देखिरहेको छु, यी दलले मुलुकलाई पार लगाउँदैनन्’, नेता भट्टराइले भने, 'यी दुई पार्टीले गर्न नसक्ने काम हामीले गरेर देखाउँछौँ।’

३ दिनसम्म चल्ने बैठकले नयाँ शक्तिको राजनीतिक वैचारिक दृष्टिकोण र महाधिवेशनको मिति तय गर्नेछ। बैठकमा १ हजार बढी प्रतिनिधि र पर्यवेक्षक सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.