|

दार्चुला : सुदूरपश्चिमको उच्च हिमाली चुचुरामध्ये पर्छ, दार्चुलाको अपी हिमाल। अपि हिमाल अपि गाउँपालिकामा नै पर्छ।  यस हिमालको उचाइ ७ हजार १३२ मिटर छ। 

सन् १८९९ मा पहिचानमा आई सन् १९६० मा पहिलो पटक आरोहण गरिएको अपी हिमालसम्म पुग्न दार्चुला सदरमुकामबाट ३ वटा रुट छन्। अपी हिमालसँगै ६ हजार ८५० मिटर अग्लो अर्को कापाचुली हिमाल अपी बेस क्याम्पबाट आधा घण्टामा सजिलै पुग्न सकिन्छ।  त्यसैगरी ५ हजार ३६८ मिटर अग्लो ठाडाढुंगा हिमाल पनि उत्तिकै रमणीय र आरोहणका दृष्टिकोणबाट उपयुक्त रहेको छ।

सबैभन्दा छोटो रुट दार्चुला सदरमुकाम खलंगाबाट हुती, सुन्सेरा, राप्ला हुँदै व्यास भएर अपी हिमालसम्म पुग्न सकिन्छ। बाटो त्रिदेशीय सीमा क्षेत्रमा पर्ने हुँदा विदेशी आरोहीहरूको प्राथमिकतामा पर्ने गरेको छैन। दोस्रो रुटका रूपमा दार्चुला सदरमुकामदेखि खार, सिप्टी र सितोला हुँदै अपी बेस क्याम्पसम्म पुगिन्छ। 

पर्याप्त दृश्यावलोकन र रमणीय प्रकृतिसँगै यस रुटबाट अपी बेस क्याम्पसम्म पुग्न सकिन्छ। बाटो र बासको अभावमा यो रुट पनि पर्यटक र पर्वतारोहीको रोजाइमा पर्दैन। पर्यटक र पर्वतारोहीहरूका लागि सबैभन्दा छोटो रुटका रूपमा दार्चुलाको गोकुलेश्वर हुँदै लटिनाथ, गुल्जर, घुसाको रुट रहेको छ। गोकुलेश्वरबाट बढीमा ४ दिन  पैदल यात्रापछि अपी हिमाल बेस क्याम्पसम्म पुग्न सकिन्छ। अपी हिमालसम्म पुग्न आउने पर्यटक र पर्वतारोहीहरूले प्रायः यही रुटलाई प्रयोग गर्ने गर्छन्।

निकै कम पर्यटक र पर्वतारोही आउने अपी हिमालमा सन् २०१५ मा काजुया हिराइमडेको नेतृत्वमा आएको जापानी आरोहण दलले भने दार्चुलाको गोकुलेश्वर हुँदै लटिनाथ, गुल्जर, घुसा हुँदै अपी हिमाल आरोहण गरेको थियो। 

सन् २०१५ मा काजुयाको टोलीमा केनरो नाकाजिम र टाकुया मिटरोसहित भरियाहरूको टोलीले अपी हिमाल आरोहण गरेको थियो। 

सन् २०१६ मा भने अपी हिमालसम्म २५ जना विदेशी नागरिक आएको अपी नाम्पा संरक्षण क्षेत्रको तथ्यांक छ। ७ महिला र १८ विदेशी पुरुषले उक्त क्षेत्र भ्रमण गरेको जानकारीबाहेक उनीहरू पर्यटक मात्रै हुन् वा पर्वतारोही हुन्? कुन देशका हुन्? कति समय बसे? आरोहण गरे वा गरेनन्? भन्नेबारेमा अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयसँग कुनै तथ्यांक छैन।

जिल्लाका उत्तरतिरका २१ गाविसलाई समेटेर स्थापना गरिएको अपी नाम्पा संरक्षण क्षेत्रले पर्यटकहरू मात्रै नभएर यस क्षेत्रमा आवातजावत गर्ने हरेकमा निगरानी बढाउनुपर्ने भए पनि विदेशी नागरिकहरूको समेत स्पष्ट तथ्यांक राख्न नसकेकाले पर्यटन विकास र प्रवद्र्धनमा संरक्षण क्षेत्र सक्रिय नभएको देखिएको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले बताए।

किन आउँदैनन् पर्यटक र पर्वतारोही?
अपी हिमाल आरोहण गर्न अप्ठेरो हिमाल नभए पनि यस हिमालसम्म पुग्ने बाटो र बाटोमा पर्यटकलाई आवश्यक पर्ने होटेल तथा अन्य सुविधा नभएकाले अपी हिमाल आरोहण गर्न कमै आउने गरेको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय बताउँछन्। ‘क्याम्पिङ गर्नेहरूले त आफ्नो व्यवस्था आफैँ गरेका हुन्छन् तर आधारभूत सुविधाहरू हामीले पु¥याउन सकेनौँ भने पर्यटक कम आउँछन्’, उपाध्यायले भने।

आरोहरण, ट्रेकिङकै लागि भए पनि पर्यटकहरू भित्र्याउन सके दार्चुलाको आर्थिक समृद्धिमा उल्लेखनीय सुधार आउने बताउँदै सरकारीस्तरमा अपी हिमाल आरोहण र पर्यटकहरूको व्यवस्थापनका लागि कुनै पहल नभएको तथा स्थानीय सरकारहरूले पनि यस पक्षलाई प्राथमिकता दिन नसकेको स्थानीय शेरसिंह धामी बताउँछन्।

नेपाल पर्वतारोहरण संघ अपी हिमाल शाखाका अध्यक्ष देवसिंह धामी अपी हिमालको प्रचार प्रसार नहुनु पनि कम पर्यटक आउनुको कारण भएको बताउँछन्।
स्टार होटेलहरूको जसरी व्यवस्था गर्न नसकिए पनि घुसा खण्डेश्वरी क्षेत्रमा पर्यटकहरू आउने हुन् र होम स्टेको शैलीमा बस्न चाहने हुन् भने हरेक परिवारले १/२ जना पर्यटकको व्यवस्था गर्न सक्ने तयारी आफूहरूले गरेको बताउँदै अपी नाम्पा उपभोक्ता समिति खण्डेश्वरीका सदस्यसमेत रहेका पोखरसिंह रोकायाले जानकारी दिए। उनले पर्यटक भित्र्याउने काममा संरक्षण क्षेत्र कार्यालयले पहल गर्नुपर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.