|

एस्टन एगरको उत्कृस्ट बलिङ तथा उत्कृष्ट फर्ममा रहेका डी आर्सी सर्टको अर्ध शतकीय इनिङको मद्दतमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई १९ रनले पराजित गर्दै उपाधि जितेको छ। वर्षाले प्रभावित भएको खेलको निर्णय डकवर्थ लुइस नियम अनुसार भएको थियो।

ट्राइ सिरिजका अधिकांश खेलमा न्युजिल्यान्ड र इंग्ल्यान्ड अष्ट्रेलियाविरुद्ध निरिह रहेका थिए। अष्ट्रेलियाले अधिकांश खेलमा आफ्नो प्रभाव देखाएको थियो।
अन्तिम खेलमा निकालेको जीतसँगै अष्ट्रेलियाले इंग्ल्यान्ड र न्युजिल्यान्ड सम्मिलित टि-२० सिरिज कब्जा गर्न सफल भयो। फाइनलमा न्युजिल्यान्डलाई हराएपछि टि-२० वरियतामा पनि अष्ट्रेलिया दोस्रो स्थानमा उक्लन सफल भयो।

ट्राइ सिरिजको फाइनलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो। जवाफि ब्याटिङ सुरु गरेको अष्ट्रेलियाले वर्षाले खेल प्रभावित हुनु अघि १४ ओभर ४ बलमा १ सय २१ रन बनायो।

वर्षाका कारण खेल्न नमिल्ने भएको पिचमा पुन खेल सम्भव नभएपछि खेलको निर्णय डिएल मेथडका आधारमा लिँदा अष्ट्रेलिया १९ रनले विजयी भयो।
न्युजिल्यान्डका लागि रोस टेलरले सर्वाधिक ४३ रन बनाएका थिए भने मार्टिन गुप्टिलले २१ रन तथा कोलिन मुनरोले २९ रन बनाउनु बाहेक अन्यको प्रदर्शन गतिलो रहेन। अष्ट्रेलियाका लागि एस्टन एगरले ३ तथा आन्द्रेउ टेन र केन रिचार्डसनले समान २ विकेट लिएका थिए।

अष्ट्रेलियाले १ सय २१ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेको थियो। ओपनर डेभिड वार्नरले २३ बलमा २५ रन बनाउदा डी आर्सी सर्टले ३० बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५० रनको अर्ध शतकीय इनिङ खेले।  वर्षाले खेल प्रभावित हुनु अघि ग्लेन म्याक्सवेल २० तथा एरोन फिन्च १८ रनमा अविजित थिए।

प्रतियोगितामा अष्ट्रेलियाले ५ खेलमा जीत निकाल्दा न्युजिल्यान्डले १ खेलमा जीत हासिल गर्‍यो। प्रतियोगितामा अष्ट्रेलियाका  म्याक्सवेल प्लेयर अफ द सिरिज चुनिएका थिए भने फाइनलमा प्लेयर अफ द म्याच एस्टन एगर भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.