|
फाइल फोटो

सुर्खेत : प्रदेशसभाका सदस्यले संसद् बैठकसमेत ख्याल नगरी वीरेन्द्रनगरबाट बाहिरिएपछि बुधबार दिउँसो १ बजेका लागि डाकिएको प्रदेश ६ को संसद् बैठक सूचना टाँसेर स्थगन भयो। ‘प्रदेशको नामकरण र राजधानी तोक्ने’ महत्वपूर्ण कार्यसूची रहेको प्रदेश ६ को प्रदेशसभाको चौथो बैठक बस्न सकेन।

बहुसंख्यक सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक शनिबारसम्मका लागि सूचना टाँसेर स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभाका अधिकांश सांसद् संघीय राजधानी काठमाडौंतिर लागेका छन्। केही सांसद् सुर्खेतबाहिर गएका छन्।

सबै सांसद उपस्थित हुन नसक्ने भएपछि बुधबारको बैठक सूचना टाँसेर स्थगित गरिएको हो। प्रदेशसभा सचिवालयका अनुसार बुधबारको बैठकमा प्रदेशको नामकरण गर्ने र राजधानी तोक्ने कार्यसूची थियो। तर, अधिकांश सांसद जिल्लाबाहिर गएको र गहन विषयमा निर्णय गर्नुपर्ने भएकाले बुधबारको बैठक स्थगन गरिएको सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार अब प्रदेशसभाको बैठक शनिबार दिउँसो १ बजे बस्नेछ। प्रदेशसभा सचिवालयका सचिव राजेश पौडेलले भने, ‘बुधबारको बैठकमा प्रदेशको नामकरण गर्ने र राजधानी तोक्ने कार्यसूची थियो, यो गहन विषय भएकाले सबै सांसदको उपस्थिति अनिवार्य हुन्छ। तर, बुधबार सबै सांसद् बैठकमा सहभागी हुने स्थिति देखिएन। हामीले शनिबार सबै माननीयलाई उपस्थित गराउने गरी बैठकको सूचना टाँस गरेका छौं।’

प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफू उपचारका लागि काठमाडौंमा रहेको जानकारी दिए। उनले भने, ‘ऐतिहासिक विषयमा छलफल हुँदैछ, संख्याभन्दा पनि सबैको सहमतिमा निर्णय गर्दा राम्रो हुन्छ। सबै माननीय सहभागी भएर निर्णय लिँदा दीर्घकालीन हुन्छ, त्यसैका लागि बुधबारको संसद् बैठक शनिबारसम्म सरेको हो।’

उनले प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत नै हुने दाबी गरे। यसमा दलबीच आन्तरिक सहमति र एकमत रहेको भन्दै उनले शनिबार औपचारिक निर्णय हुने बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.