|

काठमाडौं : अरुलाई नैतिकता र सदाचारको पाठ सिकाउँदै आएका डा.गोविन्द केसी आफैं जन्ममिति विवादमा परेका छन्। प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिनको मागसहित आन्दोलनरत केसीको प्रमाणपत्रमा फरक–फरक जन्ममिति भेटिएको छ।

केसीको एसएलसीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ साल माघ २४ गते छ। उनको नागरिकताको जन्ममिति भने २०१३ असोज २७ गते रहेको छ। उनले बढुवाका लागि पेश गरेका शैक्षिक प्रमाणपत्रमा जन्ममिति २०१३ साल मंसिर २७ गते उल्लेख छ।

उमेर र शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक–फरक जन्ममितिसहितका त्रुटि देखाउँदै केसीले प्रधानन्यायाधीशको राजीनामा माग्दै आएका छन्। नागरिकता र शैक्षिक प्रमाणपत्रको उमेरमा प्राविधिक त्रुटिले फरक परेकाले कानुनी प्रक्रियाबमोजिम एकै व्यहोरा कायम गरिएको भन्ने प्रधानन्यायाधीश पराजुलीको दाबीलाई केसीले अस्वीकार गर्दै आएका छन्।

प्रधानन्यायाधीशको उमेर विवादमा गम्भीर र आपत्तिजनक लाञ्छना लगाएको अभियोगमा केसीलाई पक्राउ गरी अदालतको अवहेलनामा मुद्दासमेत चलेको छ। उनलाई अवहेलना मुद्दामा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको छ।

भिन्न–भिन्न जन्ममिति रहेको सञ्चारमाध्यममा सार्वजनिक भएपछि बुधबार पत्रकार सम्मेलन गरेर डा. केसीले नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र, बढुवा फाराममा फरक–फरक जन्ममिति भएको स्वीकार गरेका छन्। पत्रकार सम्मेलनमा केसीले सार्वजनिक गरेको विज्ञप्तिमा नागरिकताको जन्ममिति २०१३ असोज २७, एसएलसीको चारित्रिक प्रमाणपत्र २०१३ माघ २४ र सहप्राध्यापकमा बढुवाका लागि भरेको आवेदन फाराममा २०१३ मंसिर २७ गते उल्लेख भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.