|

नेपालगञ्ज : धनगढीमा जारी प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट प्रतियोगितामा बिहीबार मध्यमाञ्चल र पश्चिमाञ्चल तथा एपीएफ र पूर्वाञ्चलबीच खेल हुने भएकोछ।

बुधबारबाट सुरु भएको खेलमा घरेलु टोली सुदूरपश्चिमाञ्चल र विभागीय टोली एपीएफले विजयी सुरुवात गरेका छन्। धनगढीको फाप्ला क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा पश्चिमाञ्चललाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमाञ्चल विजयी भएको हो। ७४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको सुदूरपश्चिमले १७ ओभर एक बलमा पाँच विकेट गुमाउँदै लक्ष्य भेटायो। सुदुरपश्चिमका लागि विमला भट्टले १८ र कप्तान मञ्जु बोगटीले १२ रन बनाइन्। पश्चिमाञ्चलकी सरस्वती पुनले तीन विकेट लिइन्।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ७३ रन बनायो। बुधबार नै भएको अर्को खेलमा एपीएफले मध्यपश्चिमाञ्चललाई १० विकेटले हराएको छ। ३७ रनको झिनो लक्ष्यसहित मैदान उत्रिएको एपीएफले चार ओभर पाँच बलमा विनाकुनै क्षति लक्ष्य भेटायो।

एपीएफकी ओपनर ज्योति पाण्डेयले १७ र सीता राना मगरले १२ रन बनाइन्। टस जितेर पहिले व्याटिङ गरेको मध्यपश्चिमले १८ ओभर चार बलमा सबै विकेट गुमाउँदै ३६ रन मात्रै बनाउन सक्यो।  प्रतियोगितामा पाँच विकास क्षेत्र र एक विभागीय गरी ६ टोलीको सहभागिता रहेको छ। विजेताले पाँच लाख र उपविजेताले नगद दुई लाख पाउनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.