|

पर्वत : अगाडिका दाँत झरिसकेका। तुषारो परेको डाँडो जस्तो शिर। चाउरी परेका गाला। त्यसो त अब मुजा नपरेको छाला सायदै कहीँ भेटिएला उनको शरीरमा।
विधवा भेषमा हातमा लौरी र पिठ्यूँमा डोकोभरी सुन्तला बोकेर जंगलको बाटोमा एक्लै हिँड्दै गरेकी ६५ वर्षकी पद्मकुमारी नेपालीको बाहिरी परिचय हो यो।

उनको सधैँको दैनिकी नै गाउँगाउँमा पुगेर कृषि सामग्री खोजेर बजारमा ल्याएर बेच्नु हो। जीवन धान्नका लागि कुनै उपाय नभएपछि पछिल्लो १५ वर्षयता उनले यसरी डोकोमा तरकारी र फलफूल बेचेरै पेट पाल्दै आएकी छन्। ‘जाडो भयो भनेर घाममा सुतेर दिन बिताउन भन्दा यति दुःख गरेर रुपैयाँ कमाउन आनन्द हुन्छ’, नेपाली भन्छिन्, ‘गाउँमा जेजे फल्छ, ती किनेर ल्याउँछु, डोकोमै बोकेर डुलाउँदै बेच्छु। दिनमा हजार रुपैयाँसम्म कमाइ नि हुन्छ।’

उनी १८ वर्षकी थिइन्, जुन बेला उनले आफ्नो जीवनको वास्ता नै नगरी आफ्नी दिदीको निधन भएपछि दिदीका छोरीहरूलाई स्याहार्न थालिन्। त्यसपछि गाउँलेहरूले दिदीका सन्तानले तिम्रो जीवन जाँदैन, श्रीमती मरेपछि एक्लै परेका एक जना लाहुरेसँग विवाह गर भन्दै कर गरेर भागी विवाह गराइदिए। तर उनको त्यो सम्बन्ध ३ वर्षभन्दा लामो समय टिक्न सकेन। 

एक सन्तानकी आमा बनिसकेकी पद्मकुमारी त्यसपछि दिनहुँजसो रक्सीको मातमा उम्लने श्रीमानका कठोर यातनाहरू भोग्न बाध्य भइन्। ‘कसरी कसरी उसले मलाई फसाइहाल्यो। चारवटा छोराछोरीको बाउ रहेछ, फेरि मबाट छोरी जन्मी। छोरी पाइस् भन्थ्यो, तैँले ल्याएको सम्पत्ति के छ र? भन्दै रातभरी पिट्ने’, बूढेसकालले चाउरी परेका परेलीबाट तप्पतप्प आँसुका ढिका खसाल्दै पद्मकुमारी भन्छिन्, ‘त्यही बेला मरूँ कि जस्तो लाग्थ्यो तर बाँचेँ अनि ऊसँग नबस्ने भनेर एक्लै बस्न थालेँ।’

विवाह गरेको साढे २ वर्षमा घर बनाउन गाह्रोमा चढेको बेला त्यहीँबाट खसेर दोस्रो श्रीमानको पनि निधन भयो। त्यही बेलामा उनले थाहा पाइन् कि पहिलो श्रीमानको मृत्यु त्यसभन्दा २ महिना अगाडि भइसकेको रहेछ।

लामो समय एक्लै बस्न उनलाई गाह्रो भयो, त्यसैले डकर्मीको काम गर्ने अर्का एक जनासँग वैवाहिक सम्बन्धमा गाँसिइन उनी। पछिल्लो पटक विवाह गरेका श्रीमानसँग उनको जीवन राम्रो चलिरहेको थियो। एकअर्कामा निकै विश्वास र माया थियो उनीहरूबीच। तर प्रारब्धले उनको यो खुसीलाई पनि लामो समय टिक्न भने दिएन। 

विवाह गरेको साढे २ वर्षमा घर बनाउन गाह्रोमा चढेको बेला त्यहीँबाट खसेर दोस्रो श्रीमानको पनि निधन भयो। त्यही बेलामा उनले थाहा पाइन् कि पहिलो श्रीमानको मृत्यु त्यसभन्दा २ महिना अगाडि भइसकेको रहेछ। त्यसपछिका दिन २ छोराहरूको साथमा बिताउन थालेकी उनले त्यही बेलाबाट नै दैनिक ज्यालादारीको रूपमा काम गर्न थालिन्।

जीवनको धेरै समय श्रीमानको वियोगमा बिताएकी उनी आफ्ना सन्तानसँग पनि खुसी छैनन्। उनका ठूलो छोरा ट्याक्सी ड्राइभर रहेछन्। उनी भन्छिन्, ‘झारा टार्न आउ आमा यतै बसम भन्छन् छोरा–बुहारीले, माया गर्नेको तरीका त अर्कै हुन्छ। उनीहरूसँग पटक्कै जान्नँ म। मलाई यही डोको र लौरीको आड नै स्वर्ग हो’, उनले थपिन्, ‘रक्सी खाएर मोटरसाइकल चलाएछ, हातखुट्टा दुवै भाँचिएछन्। छिमेकीले खबर दिए मलाई, रातभर रोएँ, भोलिपल्ट पोखराको अस्पतालमा पुगेँ। यो औषधि किन, त्यो औषधि किन भन्दाभन्दै १ लाख ७० हजार रुपैयाँ सकियो। त्यो सबै पैसा यही डोकोले कमाएको हुनाले छोरो बचाएँ।’

उनले यतिबेलै फेरि कान्छो छोरालाई १ लाख रुपैयाँको लगानीमा दुवई पठाएकी छन्। पढ्नका लागि कर गर्दा नपढेर सताएको छोरालाई विदेश पठाउने पैसा पनि त्यही डोकोबाट कमाएकी रहिछन् उनले। उनी भन्छिन्, ‘नौ मा पास भो, एसएलसी पढ भन्दा मानेन, कहिले दिल्ली कहिले मद्रास गयो। अब नपढ्ने नै भए बरु विदेशै जा भनेर दुवई पठाएँ।’

दुखै गर्नुपरे पनि उनी आफ्नो जीवनमा कर्मलाई ठूलो मान्नुपर्ने बताउँछिन्। ग्राहकसँग राम्रोसँग डिल गर्ने शैली पनि रहेछ उनीसँग। त्यसैले पनि उनले डोकोबाट तरकारी र फलफूल बेचेर जीवनलाई यहाँसम्म ल्याइपुर्‍याउन सफल भइन्। उनले भनिन्, ‘यस्ती बूढी आमाले बेच्न राखेको त खाइदिनुपर्छ, धर्म मिल्छ भन्दै किनिदिनुहुन्छ। अहिले सुन्तलाको मूल्य ६० छ, कोही कोहीले त ल ल भयो आमा तपाईं नै राख्नुस् भन्दै ९०/१०० रुपैयाँ नि दिनुहुन्छ।’ 

जिल्लाको कुश्मा नगरपालिकास्थित जिरो किलोमिटरमा बस्ने गरेको बताउने पद्मकुमारी हरेक दिनको बिहान र मध्याह्नमा तरकारी र फलफूलको खोजीमा गाउँगाउँमा पुग्छिन् अनि अपराह्न र साँझमा त्यही सामान बेच्दैबेच्दै सदरमुकाम आइपुग्छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.