|

दमक (झापा) : २०४२ असार ६ गते तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई लक्ष्य गरी बम विस्फोट गराइएपछि तत्कालीन नेपाल मोर्चाका अध्यक्ष रामराजाप्रसाद सिंहलगायतका नेतालाई सर्वस्वसहित जन्मकैदको फैसला भयो। तर त्यस घटनामा न उनी संलग्न थिए, न उनले बम पड्काएका थिए। 

त्यस घटनापछि रामराजा पक्राउसमेत परेनन्। उनी भारतमा सुरक्षित थिए। आफ्नो ज्यान दाउमा रोखर ३ दशकअघि सक्रिय राजतन्त्र र पञ्चायती व्यवस्थाको जगजगी भएका बेला गणतन्त्रको सपना देख्नेहरूले राजा र रानीलाई नै बम विस्फोटमा पार्ने लक्ष्यसहित विस्फोट गराएका थिए। 

सोही घटनाका योजनाकार अहिले मोरङको उर्लाबारी– ४ मा गुमनाम गुजरा गरिरहेका छन्। राजालाई निशाना लगाउने हात अहिले दिनको १८ घण्टासम्म एम्बुलेन्सको 'स्टेरिङ'मा कैद हुने गरेका छन्। 

मोर्चामा प्रवेश
२०२४ पुसमा जन्मिएका टेकेन्द्र गहतराज २०३८ सालतिर मोरङकै बयरवनको जनसेवा माविमा कक्षा ९ मा पढ्दै थिए। त्यसबेला स्कुलमै आएर एक जनाले नेपालमा राजतन्त्र हटाउनुपर्छ, यसको नेतृत्व गर्ने मान्छेले आन्दोलन थालिसकेका छन् तर नेपालमा बस्नुहुँदैन, भारत गएर आन्दोलन गर्न सिक्नुपर्छ र नेपालको राजतन्त्र ढालेपछि गरिब, दलित, निमुखा सबै अरू जस्तै समान हुन्छन् भनेर फकाए। विपन्न परिवारका उनलाई गरिबका पनि दिन आउँछन् भनेर आश देखाएपछि भारत जान राजी भए। उनलाई भारतको पटना लगियो, जहाँ नेपालमा गणतन्त्र ल्याउने सपनाको बिरुवा रोप्दै थिए, नेपाल जनवादी मोर्चाका अध्यक्ष रामराजाप्रसाद सिंह।

भेट्नेबित्तिकै रामराजाले १४ वर्षका किशोर टेकेन्द्रलाई कसिलो अंकमाल गरे। ‘मलाई त रामराजाले यस्तो अँगालो हाल्नुभयो कि त्यहीँदेखि म उहाँबाट प्रभावित भएँ’, उनले सुरुवाती दिन सुनाए, ‘त्यसपछि आन्दोलनमा भाग लिने हो भनेर सोधखोज भयो, मैले हुन्छ गर्ने भने अनि त्यहीँबाट तालिममा पठाइयो।’

यसरी हानियो राजा–रानीलाई बम
१८ वर्षका जवान टेकेन्द्र गहतराज भारतको सिमोतलामा करिव ४ वर्षको गुरिल्ला तालिम लिएर राजालाई नै निशाना बनाई विस्फोट गराउने जिम्मेवारी लिएर आएका थिए। ३ वर्ष त बम तयार पार्ने, विस्फोटको योजना बनाउने, निशाना लगाउने तालिम पार्टीकै केही सदस्यले दिए। तर पछि गोली नै हान्ने तालिमचाहिँ भारतीय सेनाका केही व्यक्तिले दिएको उनले खुलाए। ‘त्यस बेलाको हाम्रो आन्दोलनलाई भारतको पनि सहयोग रहेछ भन्ने मैले त्यही बेला बुझेँ’, उनले इतिहास खोतल्दै भने, ‘अरू सबै तालिम लिइसकेपछि फायर खोल्न सिकाउनचाहिँ भारतीय सेनाहरू नै आउँथे, भारतको सहयोगविना यो कसरी सम्भव भयो र!’

उनले त्यसै बेला नेपालमा गणतन्त्रको बीजारोपण गर्ने दुश्साहससहित दरबार र राजा लक्षित विस्फोट गराएका थिए। ‘२०४२ असार ६ गते राजा–रानी नै दरबार नजिकका एक व्यक्ति ऋषिकुमार पाण्डेयको घरमा देवकार्यको प्रसाद ग्रहण गर्न जाने हामीले थाहा पाएका थियैँ। उनी दरबारबाट निस्कने समयसमेत पत्तो पाइएको थियो’, विस्फोटको घटनाको नेतृत्व गरेका गहतराजले ३ दशकपछि त्यस बेलाको योजना सुनाउँदै थपे, ‘राजा जुन गेटबाट निस्किए पनि विस्फोटमा परून् भनेर दक्षिण र पश्चिम गेटमा साँझ ठीक ५ बजे विस्फोट हुने गरी टाइम बम जडान गरेका थियौँ।’ 

त्यस घटनामा राजा–रानी जोगिन सके तर राष्ट्रिय पञ्चायतका सदस्य डम्बरजंग गुरुङसहित अरू सर्वसाधारणको पनि ज्यान गयो। त्यसैबेला अन्नपूर्ण होटलमा पनि बम राखिएको थियो। ‘सबै एकै समयमा विस्फोट भए तर होटलमा पनि निर्दोष एक महिलाको ज्यान गयो, लक्षित योजना सफल भएन’, गहतराजले भने। 

सुरक्षा जाँच कडा नभएको फाइदा उठाउँदै उनीहरूले गमलामा बम जडान गरेका थिए। ‘एउटा गमलामा हामीले बम फिट गरेका थियौँ अनि त्यसमा गुलाफको बिरुवा रोप्यौँ’, विस्फोटको योजना सुनाउँदै उनले भने, ‘ठीक राजा आउने बेलामा पड्किने गरी समय मिलाइएको थियो तर एक÷दुई सेकेण्डको फरक पर्नाले राजा जोगिए।’

घटनालगत्तै राजनधानीको सुरक्षा कडा पारियो। बाहिरिने नाकाबाट कसैलाई पनि जान नदिन सुरक्षा निकायलाई निर्देशन भएको थियो। तर उनीहरू विस्फोट गराएपछि बाटै बाटो थानकोट हानिए। थानकोटमा राजधानीबाट बाहिरिनेलाई कुकुरले पनि जाँच गरिरहेको थियो। ‘त्यस बेला कुकुरले चाहिँ पत्तो लगाउने हो कि भन्ने डर थियो तर धन्न बाँचियो’, उनले भने। त्यसपछि उनीहरू सरासर भारतको पटनामा रहेका आफ्ना गुरु रामराजाप्रसाद सिंहलाई ट्नाबारे ब्रिफिङ गर्न उतै हानिए।

२० वर्षको जेल सजाय
राजालाई निाशाना लगाएको एक वर्षपछि २०४२ सालमा फेरि काठमाडौं आए उनी। तर प्रहरीले खोजी छोडेको थिएन। सुनधाराको एक लजमा बसिरहेको बेला २०४३ असारको मध्यरात उनी बम बनाउने सामानसहित पक्राउ परे। एक महिना अनेक यातना दिइयो। ‘शरीरको कुनै अंग सग्लो थिएन, पैतालाको मासु पटपट फुटेर रक्ताम्यै थियो, आँखा सुन्निएर हेर्नै नहुने, आफ्नै साथीले पनि चिन्ने अवस्था थिएन’, यातनाका कथापछि उनले थपे, ‘शरीरका सबै नीलडाम हराएपछि एक महिनापछि अदालत लगियो, अदालतबाट विध्वंसात्मक गतिविधि गरेको ठहर गरी सर्वस्वसहित २० वर्षको कैद फैसला गर्‍यो।’ 

अदालतको आदेशपछि भद्रगोल जेल चलान भएका उनले त्यहाँ मनमोहन अधिकारी, केपी ओली, भीष्म धिमाललगायतका राजबन्दीहरूलाई भेटे। तर २०४६ को राजनीतिक परिवर्तनपछि अन्य राजबन्दी छुटे पनि उनीहरूलाई छोडिएन अनि एक महिनाको अनशनपछि २०४७ पुष १४ गते राजा वीरेन्द्रको जन्मोत्सवको अवसर पारी रिहा भएका उनी मोरङको उर्लाबारी आफ्नो घर आए।

दाजुलाई टिबीले लग्यो, सेनाले बसाइँ उठायो
भाइ राजा फाल्ने आन्दोलनमा लागेको सुनेपछि उनका दाजु पनि भाइ खोज्दै पटना पुगेछन्। तर उनी तालिममा थिए, भेट भएन। भाइ नभेटे पनि उनी पनि आन्दोलनमै लागे। ‘मलाई लिन गएका दाजुले मलाई नभेटेपछि बरु आन्दोलनमै लाग्छु, एक दिन त भेटिएला नि भन्ने सोच्नुभएछ’, क्रान्तिका जोसिला कुरा गर्दागर्दै गम्भीर बनेका उनले थपे, ‘तर साँल्दाइलाई ३ महिनामै टिबी लागेछ। नेपाल आएर पनि लुकेर बसेका रहेछन्, म जेलमा थिएँ, हाम्रो भेट नै नभई दाजु बित्नुभएछ।’

एक भाइलाई टिबीले लग्यो, अर्को आन्दोलन गर्दागर्दै जेलमा। घरमा दिनहुँ सेना आएर हैरान लगाउन थालेछ। त्यसपछि २०४४ सालमा शनिश्चरेबाट परिवारको उठिबास लाग्यो। बसाइँ सरेर उर्लाबारी आएको परिवारको मियो अहिले उनै टेकेन्द्र बनेका छन्।

जनतालाई दुःख नदिने योजना
टेकेन्द्रको भनाइमा रामराजाप्रसाद सिंह जनतालाई दुःख नदिई नेपालमा गणतन्त्र ल्याउने लक्ष्यमा थिए। ‘राजतन्त्र ल्याउने भन्दै मालेहरूले पनि २०२८ सालमा झापा विद्रोह गरेका हुन् तर गणतन्त्र आएन’, रामराजाको तर्कलाई पुष्टि गर्न उनले भने, ‘माओवादीले त्यत्रो युद्ध गर्‍यो पार लागेन। पछि त उसले पनि कुरा बुझ्यो र वार्ताका लागि नोकरसँग होइन, मालिकसँग गर्ने भनेर राजासँगै वार्ता गर्ने कुरा गर्‍यो नि! तर यो कुरा हामीले २०४० सालतिरै बुझेर जनतालाई दुःख नदिई राजा फाल्ने योजनामा थियौँ।’ 

परिवार धान्नै कठिन
जेलबाट छुटेपछि सरकारले राजबन्दी भनेर ७५ हजार रूपैयाँ प्रदान गर्‍यो तर त्यसले परिवार चलेन। त्यसैले २०५२ सालमा विवाह गरेपछि २०५४ देखि ५ वर्ष साउदीमा ड्राइभिङ गरे उनले। उनका ३ छोरामध्ये जेठो साढे ३ वर्षदेखि मलेसियामा छन्।

उनी मंगलबारे अस्पतालको एम्बुलेन्स चलाउँछन्। २ छोरा र एक छोरी अध्ययनरत छन्। ‘के गर्नु, त्यो बेला राज्य नै आफ्नो हुन्छ भनेर लागियो, अहिले परिवार पाल्नै धौधौ छ’, एम्बुलेन्सको स्टेरिङमा अडिएका हात देखाउँदै उनले भने, ‘यी हात र खुट्टा अझै झम्झमाउने, दुख्ने भएर दह्रो गरी काम गर्न पनि सकिँदैन।’

उनीहरूले देखेको गणतन्त्रको सपना २ दशकपछि २०६२/०६३ को जनआन्दोलनले पूरा गरेको छ। ‘गणतन्त्रवादी वामपन्थीहरू पनि एक हुँदै गएका छन्। अबचाहिँ समाजवादी राज्य व्यवस्थाको यात्रा सुरु हुन्छ कि जस्तो लागेको छ’, कुराकानीको टुंग्याउनीतिर फेरि निराशा पोखे, ‘तर खै हौ, केही भन्न पनि सकिँदैन, गणतन्त्रका लागि ज्यान दाउमा राख्ने हामीहरू मजदुरी गरेर परिवार चलाइरहनुपरेको छ। पैसा र पहुँचका भरमा अवसरवादीहरू राज्यसत्तामा पुगिरहेका छन्। यस्ताबाट चाहिँ यो उपलब्धिलाई जोगउन सक्नुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • राजनैतिक परिवर्तनका लागी लडेका व्यक्तित्वलाई सलाम छ । परिवर्तनको मुल मर्म र आम जनतालाई बिर्सेर आत्मरतीमा मग्न नेतृत्व प्रति घृणा छ । एकातर्फ लेखनको विषय र प्रस्तुतिले भने एकपटक राजनैतिक परिवर्तनमा सामेल हुनेबित्तिकै अधिक नेता हरु जस्तै त्यसैको ब्याजमा खान, रमाउन पाउनुपर्छ , गरिखान पर्दैन भन्ने जस्तो पनि देखियो जुन लेखकको आशय नहोला। श्रमको सम्मान गरौं , आबश्यकता र सामथ्र्य वमोजिम इमान्दारिपुर्वक राष्ट्र निर्माणमा योगदान गरौं । सकेसम्म गरि खाऔं र गरि खान प्रोत्साहन गरौं ।