|

काठमाडौं : नेकपा माओवादी केन्द्रभित्र मन्त्री बन्न आकांक्षा राख्नेमध्ये धेरैजसो पार्टीबाट अगल भई फर्किएकाहरू रहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादीबाट मन्त्रीका आकांक्षीमा अधिकांश पार्टी छाडेर पुन: फर्किएकाहरू रहेका छन्।

पार्टीबाट विद्रोह गरेर बाहिरिएपछि पार्टीमै फर्किएकाले सिनियर हैसियत बनाएर अहिले मन्त्रीमा आकांक्षा राख्दै आएका छन्। पार्टीमा फर्किएर आकांक्षा राख्नेहरूमा वरिष्ठ नेता रामबहादुर थापा 'बादल', देव गुरुङ, पम्फा भुसाल, मात्रिका यादव र देवेन्द्र पौडेल रहेका छन्।

२०६९ असार ५ गते प्रचण्ड नेतृत्वको माओवादी परित्याग गर्दै वैद्य नेतृत्वको तत्कालीन नेकपा–माओवादीमा गएका बादलले अहिले माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्ने चर्चा छ। बादल प्रचण्ड नेतृत्वको तत्कालीन एनेकपा माओवादी परित्याग गरेको ४ वर्षपछि २०७३ बैशाखमा क्रान्तिकारी माओवादीबाट बहुमत केन्द्रीय सदस्यसहित फर्किएका थिए। यस्तै यादव नेकपा (माओवादी) बाट माओवादी केन्द्रमा फर्किएका थिए।

उनीसँगै फर्किएका गुरुङ, भुसाल र यादव यस पटक अहिलेसम्मको परिस्थिति परिवर्तन नभएमा मन्त्री बन्ने निश्चित छ। यस्तै, डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल परित्याग गरेर माओवादीमा फर्किएका देवेन्द्र पौडेल पनि सरकारमा जान आकांक्षा राख्दै आएका छन्। उनी गत भदौमा मात्र नयाँ शक्ति परित्याग गरी आफ्नो पुरानो पार्टी माओवादी केन्द्रमा फर्किएका थिए।

यसरी पार्टीबाट अलग भएर पार्टीमा फर्किएकामध्ये धेरैले आफ्नो हैसियत बनाइएर फर्किएको माओवादी केन्द्रका एक नेताले बताए। ‘पार्टी फुटाएर जाँदा त हामी समान थियौँ तर अहिले हामीभन्दा सिनियर हुनुभएको छ उहाँहरू’, उनले भने।

आफूहरू असन्तुष्ट भएको संकेत गर्दै पार्टी फुटाएकाहरू अनुभवी हुने भन्दै पद दिएको उनले बताए। ती नेताले व्यंग्य गर्दै भने, ‘मैले त ती कुरामा खासै चासो दिएको छैन। तर पार्टी फुटाएर गएर आएकाहरू अनुभवी हुन्छन् हो नि त!’ माओवादीमा एकता भएर उनीहरू आउँदा त्यसबेला पनि पार्टीभित्र कसलाई सिनियर मान्ने भन्ने विवाद भएको थियो। त्यसबेला पनि माओवादीमा बरियता क्रम मिलाउनेबारे विवाद भएको थियो।

कतिपयले पार्टीमा फर्किएकालाई रिझाउन पनि नेतृत्व तहले पद तथा अवसरहरू दिने गरेको बताउँछन्। उनीहरूले फेरि पार्टी फुटाउँछन् भन्ने डरले पनि नेतृत्वले अवसर दिने गरेको चर्चा छ। तर राजनीतिक विश्लेषक हरि रोकाले भने पार्टी फुटाउने डरले नेतृत्वले अवसर नदिने बताए। उनले भने, ‘पार्टी फुटाउने र आउने गर्दा त्यो नेताको शाख गिर्छ। त्यसैले अब त पार्टी फुटाउने भन्ने त हुन्न।’

माओवादीभित्रचाहिँ शक्तिकै आधारमा फर्किएर आएकाले दाबी गरेको उनले बताए। ‘पार्टी फुटाएर जाँदा पनि एउटा अलग विचारले गएका हुन्छन्। आउँदा पनि समझदारी गरेरै आउँछन्। तर आउँदा कतिको शक्ति लिएर आएको छ भन्ने कुरा ठूलो हो’, उनले भने, ‘माओवादीमा बादलजी पार्टीमा फर्कंदा राम्रैसँग फर्कनुभएको थियो। त्यसैले उहाँले दाबी गर्नु सामान्य नै हो।’

उनले भुसाल पार्टीमा प्रभाव राख्ने नेता भएकाले मन्त्रीमा दाबी स्वाभाविक रहेको बताए। भने, ‘देव गुरुङ पनि वैचारिक हिसाबमा आफूलाई बलियो मान्छन्। यादवजी पनि एउटा पार्टीको नेतृत्व गरेरै एकतामा आउनुभएको हो अनि पौडेलजीचाहिँ बाबुरामबाट आएकाले उहाँले वैचारिक रूपले छुट्टै खेमाबाट महत्त्वाकांक्षा राख्नुभएको हो।’

पार्टीमा पुनः फर्किए पनि उनीहरू संघर्ष गरेकै नेता भएको बताए। उनले भने, ‘उहाँहरू पुरानै नेता हो। जनयुद्ध लड्नुभएकै हो। पार्टीमा संघर्ष गरेकै हुन्। पछि फर्किएर के भयो त?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.