|

काठमाडौं : महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने बताएकी छन्।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले संविधानले व्यवस्था गरेअनुसार मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व गराउनुपर्ने बताइन्। “संविधानले संघ र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला रहने अनिवार्य व्यवस्था गरेको छ, त्यसअनुसार महिला प्रतिनिधित्व हुनुपर्छ,”, उनले भनिन्।

मन्त्री थापाले स्थानीय तह बलियो भएमात्र संविधान कार्यान्वयन गर्न सजिलो हुने भएकाले विकास निर्माणमा स्थानीय क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिन्।

नेकपा (एमाले)का नेता महेश बस्नेतले मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउने बताए। “नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच छलफल भइरहेको छ, अब चाँडै नै निष्कर्षमा पुगेर मन्त्रिपरिषद् विस्तार हुन्छ”, उनले भने।

नेता बस्नेतले मुलुकको समृद्धि र प्रविधियुक्त नेपाल वर्तमान सरकारको प्रमुख एजेण्डा हुने बताए। सबै हिसाबले प्रदेश ३ को राजधानी भक्तपुर मिल्ने भएकाले भक्तपुर राजधानी बनाउनुपर्ने उनको भनाइ थियो।

नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले जनताको जनादेशअनुसार कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। “राम्रो काम गरे हामी सरकारलाई सहयोग गर्छौं, नराम्रो काम गरे खबरदारी गर्छौं”, उनले भने। नेपाली कांग्रेसको संसदीय दलको नेतामा युवालाई अवसर दिनुपर्ने उनको भनाइ थियो।

माओवादी केन्द्रका नेता अमललाल मोदीले मुलुकको विकासका लागि वाम एकता भएको बताए। उनले चाँडै नै मन्त्रिपरिषद् विस्तार हुने र समावेशी र समानुपातिक प्रक्रिया अपनाए आफू मन्त्री बन्ने स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.