|

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्। संसदको बिहीबार बसेको बैठकबाट मुख्यमन्त्री राउतले राष्ट्रिय जनता पार्टी नेपाल, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी पार्टी नेपाल तथा १ जना स्वतन्त्र सांसदको समर्थन प्राप्त गरेका हुन्। नेपाली कांग्रेसले भने राउत नेतृत्वको सरकारको विपक्षमा उभियो।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका राउतले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेमा बिहीबार बसेको प्रदेशसभाको संसद बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए।

मुख्यमन्त्री राउतको प्रस्तावको समर्थन गर्दै राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा २ स्वतन्त्र सांसदले समर्थन जनाएका थिए।

प्रदेशसभाको संसद बैठकमा बोल्दै नेकपा एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले सरकारलाई विश्वासको प्रस्तावमा समर्थन गर्ने तर, सरकारमा सहभागी नहुने बताए।

नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। सरकारलाई विश्वासको प्रस्तावमा सकारात्मक सहयोग गर्ने र प्रतिपक्षको भूमिका निर्बाह गर्ने बताए। उनले सरकारको विश्वास प्रस्तावमा सहयोग, समझदारी र सहकार्य भएपनि गलत बाटो हिँडेको खण्डमा प्रतिपक्षको बेन्चमा उभिने बताए।

नेकपा माओवादी केन्द्रका नेता भरत साहले मुख्यमन्त्री तथा सरकारको गुण र दोषको आधारमा विश्वासको मत दिने भए पनि अहिलेलाई विश्वासको प्रस्तावमा समर्थन गरेको बताएका थिए। यसैगरी संघीय समाजवादी नेपालका सावित्री देवी र स्वतन्त्र उम्मेदवार शेख अब्दुर कलाम शेखले विश्वासको प्रस्तावलाई समर्थन गरेका थिए।

राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले गिरिजाप्रसाद कोइराला, सुशिल कोइराला, कृष्णप्रसाद भट्टराईको समयमा मधेशवादी दलको समर्थनमा सबै नेताहरू प्रधानमन्त्री बनेको भए पनि कांग्रेसले प्रदेश २ को बुहमतको सरकारलाई विश्वासको प्रस्तावमा समर्थन नगरेर पिठ्यु देखाएको बताए। उनले व्यङ्गय गर्दै भने, 'विपक्षी दलले पनि अन्य सबै सेवा–सुविधा पाउने भए, सेवामा कुनै कटौती हुँदैन्। विपक्षी दलका नेताहरूलाई बधाई छ।'

संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउत राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा फागुन २ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

१०७ सांसद रहेको प्रदेश २ मा सरकारको समर्थनमा ८८ सांसद पुगेका छन् भने विपक्षमा १९ सांसद रहेका छन्। बहुमतका लागि ५४ सांसद चाहिन्छ। सरकारमा सहभागी फोरम र राजपाको नै बहुमत पुग्ने भएपनि एमाले र माओवादीसहितका दलले समर्थन गरेपछि सरकारले दुई तिहाई भन्दा बढी मत हासिल गरेको छ।

प्रदेश २ मा मुख्यमन्त्रीको दल संघीय समाजवादी फोरमका २९ र राष्ट्रिय जनता पार्टीका २५ सदस्य छन्। दुवै दलको कूल सिट संख्या ५४ रहेको छ। त्यस्तै, नेकपा (एमाले)का २१, कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, संघीय समाजवादी पार्टी नेपालका १ र १ जना स्वतन्त्र सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.