|

विराटनगर : प्रदेश १ सरकारले प्रदेशको शान्ति सुरक्षाको अवस्था बलियो बनाउन ‘जनतासँग प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको शान्ति सुरक्षा बलियो बनाउन आम जनतालाई परिचालित गर्ने गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए। मुख्यमन्त्री राईले भने, ‘अभियानअन्तर्गत प्रदेशका सबै घरधुरीमा नजिकको प्रहरी युनिट र सम्बन्धित जिल्ला प्रहरी कार्यालयको फोन नम्बरसहितको स्टिकर टाँस गरिन्छ। त्यसमा घटना, दुर्घटना, अपराध वा सुरक्षा चुनौती भए खबर गर्न आग्रह गरिन्छ।’ 

जनताले दिएको सूचनाअनुसार शहरी क्षेत्रमा आधा घण्टाभित्र र ग्रामीण क्षेत्रमा १ घण्टाभित्र घटनास्थलमा प्रहरी पुग्ने गरी काम अगाडि बढाइने मुख्यमन्त्री राईले बताए। 

अभियानले आम जनतालाई शान्ति सुरक्षाको अभियानमा परिचालन गर्ने र प्रदेशको सुरक्षा मजबुत बनाउने विश्वास प्रदेश सरकारको छ। बिहीबार बसेको बैठकले जनताका गुनासा सरकारसँग पुर्‍याउन पाक्षिक रूपमा ‘जनतासँग मुख्यमन्त्री’ टेलिफोन संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ। 

प्रदेश सरकार बनेपछिको दोस्रो मन्त्रिपरिषद् बैठकले सरकारको कामलाई अगाडि बढाउन विभिन्न ३ वटा समितिसमेत गठन गरेको छ। 

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवको नेतृत्वमा कानुन मस्यौदा समिति, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवको नेतृत्वमा भौतिक पूर्वाधार विकास सुझाव समिति र मुख्यमन्त्रीको कार्यालयका सचिवको नेतृत्वमा सुशासन तथा सदाचार प्रवर्द्धन समिति गठन गरेको हो। समितिले दिएको सुझावको आधारमा सरकारले आफ्नो आगामी कार्यक्रम तय गर्नेछ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले सरकारले छिट्टै पूर्णता पाउने बताए। मुख्यमन्त्री राईले प्रदेश संसदलाई नियमित बिजनेस दिने गरी सरकारले तयारी गरेको समेत जानकारी दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.