|

हेटौँडा  : हेटौँडामा जारी हेटौँडा गोल्डकपको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस र नेपाल आर्मीले नतिजा आफ्नो पक्षमा आउने दाबी गरेका छन्।

सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको शुक्रबार भएको प्री म्याच कन्फरेन्समा दुवै टिमले उपाधि आफूले हात पार्ने दाबी गरेका हुन्। 

नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले आफ्ना खेलाडीहरू लयमा रहेको र युवाहरू भएकाले उपाधि जित्नेमा आफू विश्वस्त रहेको बताए। प्रत्येक खेलाडीलाई जिम्मेवारी तोकिएको र त्यही योजनाअनुसार गोल्डकपका दुई खेलमा जित हासिल गरेकाले पनि आफूहरू जित्नेमा ढुक्क रहेको बताए। कप्तान हेम तामाङले पनि अहिलेसम्म पुलिसको ‘टिम वर्क’ राम्रो रहेकाले सुखद नतिजा आउने बताए।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफूहरू छैटौँ उपाधिका लागि प्रतिस्पर्धा गरिरहेको भन्दै यो उपाधि पनि हातपार्ने दाबी गरे। निरन्तर खेलिरहँदा आफ्ना केही खेलाडी सामान्य घाइते रहे पनि अवसरलाई सदुपयोग गर्ने बताए। उनले दुई टिमबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने बताउँदै जित आफूहरूकोे लक्ष्य रहेको जनाए। कप्तान भरत खवासले उपाधि भिडन्त दुवै टिमका लागि महत्वपूर्ण हुने भएकाले आफूहरू पाएको अवसरलाई सदुपयोग गर्दै उपाधि हातपार्ने रणनीतिका साथ मैदानमा उत्रने बताए।
 
प्री म्याच कन्फरेन्समा प्रतिष्ठानका अध्यक्ष भेष खड्गी, कार्यक्रम संयोजक विशाल घोष, महासचिव सविन न्यौपानेलगायतको सहभागिता थियो। प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.