कति सुरक्षित छ सिजेरियन डेलिभरी?

|

काठमाडौं : थानकोटकी २६ वर्षकी गीता शर्मा (नाम परिवर्तन)लाई डाक्टरले फागुनको १४ गते सुत्केरी हुने समय दिएको थियो तर उनी सुत्केरी हुन दिएको समयभन्दा २ दिन अगाडि नै थापाथली प्रसुतीगृह आइन्। उनले ज्योतिषलाई राम्रो साइत हेराएर बच्चा जन्माउन आएकी थिइन्। उनले भनेकै साइतमा चिकित्सकले पनि अपरेसनद्वारा बच्चा जन्माइदिए।

गीता एक प्रतिनधि पात्र मात्र हुन्। पछिल्लो समय शल्यक्रिया अर्थात सिजेरियनबाट बच्चा जन्माउने प्रचलन बढेर गएको थापाथली प्रसुतीगृहका प्रमुख तथा प्रसुती रोग विशेषज्ञ डा. जागेश्वर गौतम बताउँछन्।

नेपालकै सबैभन्दा धेरै प्रसुती हुने थापाथली प्रसुतीगृहको तथ्यांक हेर्ने हो भने पनि अपरेसनबाट बच्चा जन्माउने महिलाको संख्या बढ्दै गएको छ।

सबैभन्दा धेरै सुत्केरी हुने थापाथली प्रसुतीगृमा दैनिक कम्तीमा ६० जनाले बच्चा जन्माउँछन्। तीमध्ये कम्तीमा ३० प्रतिशत महिलाले अपरेसन वा सिजेरियनबाटै बच्चा जन्माउने गरेको अस्पतालको तथ्यांंक छ। अस्पतालले गत आर्थिक वर्षमा सुत्केरी भएका १८ हजार ९२७ जनामा १ हजार ६२९ जनाले अपरेसनबाट बच्चा जन्माएको जानकारी दिएको छ।

आर्थिक वर्ष २०६९/०७० मा भएको कुल २३ हजार १५५ डेलिभरीमध्ये ४ हजार ६०२ जनाले अपरेसनबाट बच्चा जम्माएको अस्पतालको तथ्यांकमा उल्लेख छ। यस्तै, आव २०७०/०७१ मा सुत्केरी भएका १८ हजार ९२८ मध्ये ४ हजार ६६५ जनाले, आव २०७१/०७२ मा १८ हजार ६१८ सुत्केरी भएकामध्ये ४ हजार ८०७ ले अपरेसनबाट बच्चा जन्माएका छन् भने २०७२/०७३ मा सुत्केरी भएका १८ हजार ९७ जनामध्ये  ४ हजार ५४८ जनाले अपरेसनबाट बच्चा जन्माएको देखिन्छ।

प्राकृतिक रूपमा बच्चा जन्माउनु स्वास्थ्यका लागि राम्रो भन्ने ज्ञान हुँदा पनि ज्योतिषलाई हेराएर राम्रो साइतमा बच्चा जन्माउने चाहना, प्राकृतिक डेलिभरीका लागि लामो समयसम्म पीडा सहेर बस्न नसक्ने हुँदा सिजेरियन गरेर प्रसव पीडाबाट मुक्ति पाउन पछिल्लो समय बच्चा जन्माउन महिलाहरूले शल्यक्रिया रोज्ने गरेका छन्।

पछिल्लो समय अपरेसनबाट बच्चा जन्माउने महिलाको संख्या बढ्दै गएको डा. गौतम बताउँछन्। उनले भने, 'धेरैलाई नर्मल डेलिभरी स्वास्थ्यका लागि राम्रो हो भन्ने थाहा हुँदाहुँदै पनि लामो समयसम्म पीडा सहन नसक्ने, ज्योतिषलाई हेराएर बच्चा जन्माउने साइत निकाल्ने जस्ता कुराले पछिल्लो समय अपरेसनबाट बच्चा जन्माउने महिलाको संख्या बढेको छ।'

ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रका गर्भवती महिलाहरूले बच्चालाई जन्म दिन प्राकृतिक रूपमा भन्दा सिजेरियन नै रोज्ने गरेको समेत डा. गौतमले बताए। उनले भने, 'ग्रामीण भेगका स्वास्थ्य संस्थामा अपरेसनका लागि राम्रो स्वास्थ्य संस्था नुहुनु, धेरै महिलाहरूले घरमै  बच्चा जन्माउने हुँदा ग्रामीण भेगमा महिलाहरूले प्राकृतिक प्रक्रियाबाटै बच्चा जन्माउने तर शहरमा सुविधा सम्पन्न अस्पताल हुने लामो समयसम्म पीडा सहन झन्झट मान्ने हुँदा ग्रामीण भेगको तुलनाका शहरी क्षेत्रका महिलाहरूले बच्चा जन्माउँदा अपरेसन नै रोज्ने गरेका छन्।'

कुन अवस्थामा सिजेरियनबाट बच्चा जन्माउने?

बच्चा धेरै ठूलो वा बच्चा आमाको पेटमा उल्टो बसेको अवस्थामा अपरेसन गर्नुपर्ने भए पनि सामान्य अवस्थामा पनि अपरेसनद्वारा बच्चा जन्माउनु स्वास्थ्यको हिसाबले जोखिम हुने डा. गौतम बताउँछन्।

यस्तै, पाठेघरको मुख सानो भएको अवस्था, बच्चाको टाउको ठूलो भएको अवस्था, बच्चा उल्टो, तेर्सो वा अन्य नमिलेको अवस्थामा, बच्चाको मुटुको धड्कन सामान्यभन्दा कम वा बढी भएको अवस्था, साल पाठेघरको मुखमा रहेको, बेथा लगाएर पनि डेलिभरी नभएको वा पहिलेको बच्चा पनि अपरेसनबाट जन्माएको अवस्था र आमाको अस्वाभाविक रूपमा रक्तचाप बढेमा अपरेसनबाट बच्चा जन्माउनुपर्ने हुन्छ।

कति सुरक्षित छ सिजेरियन? 

यदि पहिलो बच्चा अपरेसबाट जन्माइएको हो भने दोस्रो बच्चा प्राकृतिक रूपमा जन्माउन गाह्रो हुन्छ। अपरेशनद्वारा बच्चा जन्माउँदा पाठेघर पातलो हुने हुँदा अर्को बच्चा पेटमा हुँदा पाठेघर फुट्ने सम्भावना धेरै हुन्छ। यस्तै, धेरै रक्तश्राव हुने, अपरेसनको बेलामा लगाइने एनेस्थेसियाले पछि शरीर झमझमाउने र शरीरमा संक्रमण हुने सम्भावना धेरै हुने गर्दछ। यसका साथै अपरेसन गर्दा आन्द्रा, पिसाब थैली र कहिलेकाहीँ मिर्गौलामा समस्यासमेत आउने सम्भावना हुन्छ। पेटभित्रै रक्तश्राव हुने र पछिसम्म पेट दुखिरहने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.