|

बारा : नेपालकै पहिलो पेट्रोलियम पाइपलाइन योजना निर्माण अघि बढेको छ। भारतको मोतिहारी–रक्सौलदेखि बाराको जीतपुरसिमरा उपमहानगरस्थित अमलेखगन्जसम्म निर्माण हुन लागेको हो।

२० वर्षदेखिको बहुप्रतीक्षित पाइपलाइन परियोजना ३६.२०६ किलोमिटर रहेको छ। यो पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्य भारतीय आयल निगमले सुरु गर्न लागेको हो। भारतीय पक्षले काम अघि बढाएसँगै निर्माण कार्य छिट्टै सम्पन्न हुने देखिएको हो।

वीरगन्जको शंकराचार्य गेटबाट वीरगन्जकै गण्डक नहरसम्म वाइपास सडकको दायाँ भागबाट र त्यसपश्चात त्रिभुवन राजपथको गण्डक–अमलेखगन्ज खण्डमा सडकको बायाँ भागबाट पाइपलाइन निर्माण गर्न लागिएको हो।

सडकको २५ मिटरभित्र पर्ने गरी पाइपलाइन निर्माण गर्न लागिएकाले मुअब्जालगायतका अन्य अवरोध नहुने भएकाले पनि निगमले सडकको क्षेत्रभित्रबाट पाइपलाइन निर्माण गर्न लागेको हो।

साढे ३ करोड भारतीय रुपैयाँमा निर्माण हुन लागेको उक्त पाइपलाइनमा भारतीय पक्षले २०० करोड भारतीय रुपैयाँ र नेपाली पक्षले ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने सहमति भएको छ।

पाइपलाइन निर्माणका लागि आवश्यक कामहरू सम्पन्न भइसकेका र भारतीय आयल निगमले पाइपहरू निर्माण गरेर नेपाल पठाइसकेको पाइपलाइन प्रोजेक्ट सिमराका मेकानिकल इन्जिनियर शरद पौडेलले बताए। ‘अब केही दिनभित्र मेसिनरी सामग्रीहरू आउनेवित्तिकै पाइप बिछ्याउने कार्य सुरु गर्छौं’, इन्जिनियर पौडेलले भने।

भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्लाको मोतिहारी बजार क्षेत्रको ११ किलोमिटर उत्तरतर्फ सेमरा भन्ने स्थानमा टर्मिनल या ट्याप या प्वाइन्ट निर्माण गरी उक्त स्थानबाट नेपालको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्न लागिएको हो। पाइपलाइन बिछ्याउने कार्यका लागि सबै किसिमका सर्भे, माटो परीक्षण, रेखांकन पिलरहरू समेत स्थापना गरिसकिएको छ। 

नेपाल भित्रिएको पाइपको मोटाइ १०.७५ इन्च र गोलाइ ०.२१९ इन्च रहेको छ। ‘भारतीय कम्पनी जिन्दलले माटो परीक्षण गरी निर्माण गरेको हो’, इन्जिनियर पौडेलले भने, ‘पाइपको गुणस्तर राम्रो रहेको छ।’

पाइपलाइन कहाँबाट कसरी जोडिन्छ?

भारत बिहार राज्यको बरौनी रिफाइनरीबाट पटना–मुगलसराय हुँदै कानपुरसम्म पेट्रोलियम पदार्थ ढुवानी हुने पाइपलाइन पहिलेदेखि नै संचालित थियो। पटना–मुगलसराय सेक्टरबीचमा पर्ने बिहारकै सिवान भन्ने ठाउँमा ट्याप अफ प्वाइन्ट निर्माण गरी त्यहाँबाट एउटा लाइन भारत उत्तर प्रदेशको बैतालपुरसम्म र अर्को लाइन सिवानबाट मोतिहारी हुँदै अमलेखगन्जसम्म जोड्ने योजना भारतीय आयल निगमको रहेको छ। मोतिहारीदेखि रक्सौल बोर्डरसम्म ३३.७ किलोमिटर र रक्सौल बोर्डरदेखि अमलेखगन्जसम्म ३६.२ किलोमिटर दूरी रहनेछ।

समुद्र सतहबाट ८४ मिटर उचाइमा रहेको रक्सौल र २७७ मिटर उचाइमा रहेको अमलेखगन्जबीचको दूरीमा प्राविधिक ढंगबाट पाइपलाइन निर्माण हुने भएकाले कुनै समस्या नहुने निगमका प्राविधिकको भनाइ छ।

पाइपलाइन २.५ मिटर गहिराइबाट ल्याउन लागिएको छ। खोला तथा अन्य गहिरा भागहरूमा आवश्यकताअनुसार १५ मिटरसम्म गहिरो बनाउनुपर्ने देखिएको छ।

सम्झौता भएको झन्डै २ वर्षपछि गत जेठ २४ र २५ गते दिल्लीमा भएको नेपाल र भारतका उच्च अधिकारीहरूको बैठकमार्फत यो पाइपलाइन निर्माणका लागि औपचारिक प्रक्रिया थालिएको थियो। २०७२ भदौ ७ गते तत्कालीन आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानबीच रक्सौल-अमलेखजन्ज पाइपलाइन ३० महिनाभित्र बनाउने सम्झौता भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला वाचा गरेअनुसार पाइपलाइन निर्माणसम्बन्धी सम्झौता भएको हो।

अहिले भारतीय पक्षले द्रुत गतिमा काम अघि बढाउने तत्परता देखाएको छ। इन्जिनियर पौडेलले भने, ‘उतातिर समन्वयको पाटो र यता गर्नुपर्ने काम दुवै हामीले पनि अघि बढाएका छौँ।’

वार्षिक ६० करोड बचत

पाइप लाइनमार्फत पेट्रोलियम आयात गर्दा आपूर्ति सहज हुनुका साथै ढुवानी लागत र अरू नोक्सानि रोकिएर वार्षिक रूपमा ५५ देखि ६० करोड रुपैयाँ जोगिने निगमको अनुमान छ। अहिले नेपाललाई चाहिने इन्धनको ७० प्रतिशत रक्सौल नाकाबाट वीरगन्ज हुँदै ट्यांकरमा भित्र्याइन्छ। यसमा ढुवानी लागत बढी पर्ने र चुहावटले गर्दा नोक्सानि हुने गरेको छ।

निर्माण सम्पन्न भएपछि कुल उपभोग्य पेट्रोल र डिजेलमध्ये ८० प्रतिशत पाइपलाइनबाटै आयात हुनेछ। त्यस्तै, कुल उपभोग्य हवाई इन्धन र मट्टितेलको ९५ प्रतिशत पाइपलाइनबाटै आयात गर्न सकिन्छ। यसले ढुवानीवापतको ७० करोड रुपैयाँ निगमलाई थप फाइदा पुग्नेछ।

आयोजना अघि बढाउन जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख डा. कृष्ण पौडेलले घच्घच्याउने काम गरिरहेको बताए। ‘यो बहुप्रतीक्षित आयोजना देशको समृद्धि र विकाससँग जोडिएको छ। यसको निर्माणमा ढिलाइ हुनुहुँदैन', डा. पौडेलले भने, ‘उपमहानगरभित्र कुनै समस्या आए त्यसलाई तत्काल समाधान गर्छौं।’

पाइपलाइन विस्तारपछि बन्द र आन्दोलनका समयमा पनि मुलुकमा पट्रोलियम पदार्थको आपूर्तिमा कमी नहुने र यसले वार्षिक करिब ७० करोड रुपैयाँ यातायात लागत घटाउने अनुमान गरिएको छ।

वीरगन्ज सिमानामा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको समेत ट्राफिक जाम नहुने भएको छ। परियोजनाको निर्माणसँगै हाल अमलेखगन्जमा रहेको डिपोलाई पनि आधुनिकीकरण गरिने भएकाले पेट्रोल, डिजेल र हवाई इन्धनको भण्डारण क्षमता विस्तार गर्न सकिने जनाइएको छ। यो परियोजना सम्पन्न भएलगत्तै अमेलखगन्ज नेपालकै पेट्रोलियम पदार्थ आपूर्तिका लागि महत्त्वपूर्ण केन्द्रका रूपमा विकास हुनेछ।

फास्ट ट्र्याकमा पाइपलानको चर्चा

अमलेखगन्जबाट निजगढ हुँदै काठमाडौंसम्मको द्रुतमार्गसँगै १०० किलोमिटरको पाइपलाइन विस्तार गर्ने सरकारी योजना छ। काठमाडौं–निजगढ फास्ट ट्र्याकसँगै पेट्रोलियम पाइपलाइन काठमाडौंसम्म ल्याउन नेपाल आयल निगमले प्रस्ताव गरेको छ। निगमले त्यसका लागि आफैँले वित्तीय स्रोत जुटाउने भन्दै सघाउन नेपाली सेनालाई प्रस्ताव गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.